काठमाडाै । नसोमबारसम्म नेपाल प्रहरीमा ६५४ जना संक्रमित भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हेडक्वार्टरमा मात्र १६३ जना संक्रमित छन्। तिनीहरूसँग सम्पर्कमा आएका ५५ जना क्वारेन्टिनमा छन्। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।
आम मानिससँग प्रत्यक्ष सम्पर्कमा रहने गरेका कारण प्रहरीमा संक्रमण बढिरहेको प्रधान कार्यालयको भनाइ छ। काठमाडौं उपत्यकामा ३६ जना संक्रमित देखिएका छन्। यी सबै गरेर अहिले ४०० जना संक्रमित प्रहरी अस्पतालमा उपचाररत् रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताउनुभयाे ।
संक्रमित बढेपछि प्रहरी अस्पतालका शैय्या भरिएका छन्। सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पनि भरिएको छ। संख्या बढ्न थालेपछि प्रहरी अस्पताल पछाडिको ब्यारेकमा १५० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ। सामाखुसीस्थित विपत व्यवस्थापन महाशाखामा पनि १५० बेडको आइसोलेसन निर्माण गरिएको कडायतले बताउनुभयाे ।