


काठमाडौं, ७ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सरकारी सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा आफुले राखेको धारणा भन्दा विपरित
सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्री न्यौपानेले आफ्नो धारणालाई प्रष्ट पार्दै निजामतीको सबै पदमा खुला राख्दा कर्मचारीहरुमा काममा भन्दा बढि लोकसेवामा ध्यान जाने गरेको बताइन् ।
संघीय निजामती सेवा विधेयकमा नासु खुलाबाट नगर्ने प्रस्ताव छ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकमा लोक सेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ । ‘खरिदार र
नासुमा एकै योग्यता र कोर्षबाट परिक्षा दिन पाइने हुँदा निजामती सेवामा खरिदारको खुला विज्ञापन गरेपछि नासुमा पनि विज्ञापन गर्दा उक्त कर्मचारीको ध्यान नासुको परिक्षामा बढि केन्द्रीत हुने मेरो भनाई हो ।’ मन्त्री न्यौपानेले स्पष्ट पारिन् ।
सबै पदमा खुला विज्ञापन गर्दा कर्मचारीहरु आफ्नो वृद्धिविकासका लागि कार्यालयमा हाजिर लगाएर लोक सेवाको तयारी स्वरूप पढाइमा केन्द्रीत हुने र यसले सरकारले चाहेअनुसारको नतिजा
दिन नसक्ने मन्त्री न्यौपानेले बताइन् ।
राष्ट्रिय सभामा छलफल भईरहेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धी व्यवस्था छ । खरिदार तहमा आन्तरिक बढुवामार्फत् मात्र नायब सुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । खरिदार तहमा प्रतिश्पर्धा गर्न कक्षा १२ उत्तिर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायब सुब्बा पदमा खुला प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश पाइनेछ ।
यसका अलवा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिनेव्यवस्था राखिएको छ ।
यस्तै विधेयकमा अब उपसचिवमा प्रतिश्पर्धा गर्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ । अहिलेसम्म खुला प्रतिस्पर्धाबाट सहसचिव लड्न पाउनेव्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन ।