


काठमाडौ, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राखेका हुन् । विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
प्रधानमन्त्री ओलीका अनुसार, विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियतापूर्वक लागेको छ । विपिनका आमा र बहिनीले इजरायलबाट फर्किएपछि प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर फर्कनु भएको थियो, विपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन, ओलीले लेखेका छन् ।