मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबीच शिष्टाचार भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्री न्यौपाने र कार्यवाहक स्वीस राजदूत माइयरबीच शिष्टाचार भेट

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८२, बिहीबार

    काठमाडौ, १२ भदौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

    भेटको प्रारम्भमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्याण्डबीच कायम रहँदै आएको सौहार्दपूर्ण सम्बन्धप्रति खुशी व्यक्त गर्दै नेपालको आर्थिक–सामाजिक विकासमा स्वीस विकास सहायताले पुर्याएको योगदानको उच्च प्रशंसा गरिन्।

    उनले कोशी र बागमती प्रदेशका नगरपालिकाहरूको आन्तरिक राजस्व अभिवृद्धि गर्न अर्थ मन्त्रालयसँग सहकार्यमा परियोजना दस्तावेज तयार भइरहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै, यस कार्यक्रम नेपालका स्थानीय तहलाई सबल बनाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन्। उनले यस सम्बन्धमा चाँडै द्विपक्षीय सम्झौता सम्पन्न भई कार्यक्रम कार्यान्वयनमा जाने आशा प्रकट गरिन् ।

    प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम दोस्रो चरणमा प्रविष्ट भएको सन्दर्भमा मन्त्री न्यौपानेले यसलाई खुशीको विषयका रूपमा व्याख्या गर्दै पहिलो चरणको अनुभव र सिकाइका आधारमा दोस्रो चरण अझ प्रभावकारी हुने धारणा राखिन् । यस अवसरमा स्वीस सरकार, युरोपेली संघ लगायतका विकास साझेदारहरूको निरन्तर सहयोग र प्रतिबद्धताप्रति उनले धन्यवादसमेत ज्ञापन गरिन् ।

    सो अवसरमा कार्यवाहक राजदूत माइयरले मन्त्री न्यौपानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मन्त्रालयसँग भएको निरन्तर सहकार्यप्रति आभार प्रकट गरे। उनले पिएलजिएसपी दोस्रो चरण संशोधनसहित कार्यान्वयनमा ल्याउन गत एक वर्षदेखि गरिएको अथक प्रयासको स्मरण गर्दै, स्थानीय शासन सबलीकरण तथा संघीयता सुदृढीकरणका लागि यो कार्यक्रम मुख्य आधार भएको बताए ।