स्काइपिक एडबेंचर्सपार्क लिमिटेडले आईपीओको लागि बिक्री प्रबन्धक नियुक्त गर्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्काइपिक एडबेंचर्सपार्क लिमिटेडले आईपीओको लागि बिक्री प्रबन्धक नियुक्त गर्यो

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८२, आईतवार

    काठमाडौ, १६ कात्तिक । स्काइपिक एडबेंचर्सपार्क लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को लागि बिक्री प्रबन्धकको रूपमा नाबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

    कम्पनीले यसको लागि कार्तिक १ गते सम्पन्न साधारण सभाबाट निर्णय गरेको थियो। त्यसपश्चात् नबिलसँग नियुक्तिको सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशी र कम्पनीको तर्फबाट कार्यकारी संचालक पोष्टबहादुर खड्काले हस्ताक्षर गरेका छन्।

    साहसिक पर्यटकीय पूर्वाधार तयार गरि व्यावसायिक अर्थोपार्जन गर्ने उद्धेश्य बोकेको यस कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जारी पूँजी ८८ करोड रुपैयाँ रहनेछ।

    प्रबर्धक बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेड, आरकेडी होल्डिङ लिमिटेड, टुरिज्म इन्भेस्टमेन्ट फण्ड लिमिटेड, बिजबजार लिमिटेड र १ हजार जना व्यक्तिहरूको गरि जम्मा ६९ करोड ५२ लाख रुपैयाँको चुकता पूँजी रहेकोछ। आईपीओ अन्तर्गत, प्रति कित्ता १०० रुपैयाँको दरले सर्वसाधारणलाई १८ करोड ४८ लाख रुपैयाँको शेयर, प्रस्ताव गरिने कम्पनीले उल्लेख गरेको छ।

    यसैगरि आईपीओ प्रयोजनका लागि इक्विटी रेटिङ गर्न कम्पनीले क्यर रेटिङ लिमिटेडसँग पनि सम्झौता गरेको छ। यसका लागि क्यर रेटिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झा, र कम्पनीको तर्फबाट संचालक धुर्व प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले बन्दीपुरमा केवलकारसँगै संचालनमा ल्याउनेगरि विश्वकै सबैभन्दा लामो (९७ मिटर) क्यान्टिलिभर स्काई-ब्रिज, बन्जी-जम्प, सोप-स्विङ, स्काई ग्लास वाक-थ्रू, मेटल टावर क्लाइम्बिङ, बि-लेट जम्प, मेकानिकल स्विङ, क्याप्सुल लिफ्ट, भयूज-रुम टावर, एज-वाक, स्काई डाइनिङ, फ्लाइङ डाइनिङ, एटिभी सफारी, आदियोगी धार्मिक-पार्क, रक-क्लाइम्बिङ,पिकनिक क्याम्प, लगायतका साहसिक पर्यटकीय गतिविधिका पूर्वाधारहरू निर्माण गरिरहेको छ।

    यो परियोजनाको कुल लागत १ अर्ब ७० करोड रुपैयाँ रहेको छ। विश्वकै सबैभन्दा लामो (९७ मिटर) क्यान्टिलिभर स्काई-ब्रिज, बन्जी-जम्प, सोप-स्विङ बाहेकका बाँकी सम्पूर्ण पूर्वाधार २०८२ फागुन मसान्तभित्र व्यावसायिक संचालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ। हालसम्म कम्पनीले बैंकिंग ऋण नलिएको निजको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ। सम्पूर्ण परियोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा मात्र बैंक ऋण लिने नीति रहेको वित्तीय निर्देशक ध्रुवप्रसाद पौडेलले बताए ।