धरान : कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका १७ स्थित रेल्व चोकमा आमा-छोराको मृत्यु भएको छ । उनीहरूको आइतबार उपचारका क्रममा बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुनेमा ७४ वर्षीय कान्छी आमा (सौतेनी आमा) र ६० वर्षीय छोरा रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयाे। मधुमेह र उच्च रक्तचापका बिरामी रहेका दुबैलाई शनिबार मात्र उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको थियो ।
उनीहरुको दाहसंस्कारका लागि व्यवस्थापन भइरहेको धरानका मेयर तिलक राइले बताउनुभयाे । धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअघि धरान १५ का दुई पुरुष र एक महिलाको निधन भएको थियो ।