


काठमाडौं, ८ जेठ। राष्ट्रियसभामा नेपाली कांग्रेसका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजनीतिक समीकरणमाथि कडा टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै परियारले बालेन–रवि जोडी अहिले नेपाली राजनीति र जनमानसको मुख्य चासोको विषय बनेको भन्दै उनीहरूको सहकार्य टिकाउ हुन्छ कि हुँदैन भन्नेमा प्रश्न उठाए ।

“बालेन्द्र र रविको जोडी कसरी अगाडि बढ्छ, यो जोडी कस्तो हुन्छ भन्ने समग्र नेपाली राजनीतिक विश्लेषक र जनमानसको चासो रहेको छ,” उनले भने, “यदि सहअस्तित्वको भावनालाई यी जोडीहरुले स्वीकार गर्न सकेनन् भने यो जोडी असफल हुन्छ । विगतमा पनि यस्तै गठजोड र सहकार्य असफल भएका उदाहरण छन् ।”
परियारले बाहिरबाट मित्रवत् र मिलेको देखिए पनि भित्री रूपमा अविश्वास, शक्ति संघर्ष र फरक एजेन्डाको चर्चा भइरहेको संकेत गरे । “बाहिर हेर्दा जोडी मिलेको जस्तो देखिएको छ, तर भित्री रुपमा हल्ला अर्कै छ,” उनले कटाक्ष गरे ।
उनले जनताले परिवर्तन, सुशासन र विकासको आशामा नयाँ शक्ति र नयाँ अनुहारलाई साथ दिएको स्मरण गराउँदै अब व्यवहारले प्रमाणित गर्नुपर्ने बताए ।
उनले नयाँ राजनीतिक शक्तिमाथि व्यंग्य गर्दै आन्दोलनका बेला सामान्य जीवनशैली देखाएर जनताको मन जितेका नेताहरू अहिले अकस्मात् करोडौंका मालिक बनेको भन्दै प्रश्न उठाए । “जेनजी आन्दोलनमा पानी बाँडेर आएका मन्त्रीहरु करोडौंका मालिक पो रहेछन् भनेर जनता छक्क परेका छन्,” उनले भने ।