किरियापुत्री भवनका लागि आमा समूहद्वारा सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    किरियापुत्री भवनका लागि आमा समूहद्वारा सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०८३, शनिबार

    दमौली, ९ जेठ । समुदायमा सामाजिक सेवा तथा अन्त्येष्टि संस्कारलाई सहज बनाउन किरियापुत्री भवनका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। व्यास नगरपालिका वडा नम्बर ३ मादीनदी किनारमा सञ्चालित भवनका लागि व्यासनगर आमा समूहले शनिबार आवश्यक सामग्री सहयोग गरेको छ।

    स्थानीय तह, समाजसेवी तथा विभिन्न दातृ संस्थाहरूको सहयोगमा क्रियापुत्री भवन निर्माण सम्पन्न भएपनि भवन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक दैनिक प्रयोगका सामानहरू आवश्यक रहेको भन्दै व्यासनगर आमा समूहले आवश्यक सामग्रीको पहिचान र खरिद गरी हस्तान्तरण गरिएको व्यास नगर आमा समूहकी अध्यक्ष मन्जु वाग्लेले बताइन्।

    वाग्लेका अनुसार हिन्दू धर्म संस्कार अनुसार काजक्रियाका क्रममा आवश्यक पकाउने, खाने, बस्ने सामग्रीहरू प्रदान गरिएको छ। ग्याँस चुलो, कराई, गाग्री,बाल्टी, इलेक्ट्रिक जग,,कसौडी लगायत ५० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । एक लाख मूल्य बराबरका ती सामग्रीहरू किरियापुत्री भवन सञ्चालक समितिका अध्यक्ष उपेन्द्र लम्साललाई प्रदान गरिएको हो ।

    सामग्री ग्रहण गर्दै अध्यक्ष लम्सालले व्यासनगर आमा समूहको सामाजिक कार्य अनुकरणीय रहेको बताए। प्राप्त सहयोगले भवनको सेवा विस्तार गर्न र किरियापुत्री बस्नुपर्ने परिवारलाई थप सहज वातावरण उपलब्ध गराउन मद्दत पुग्ने लम्सालको विश्वास थियो।

    भवन सञ्चालक समितिकी सचिव नारायणी अधिकारीले सामाजिक परम्परा र संस्कारलाई सम्मान गर्दै समुदायको एकता र सहकार्यले मात्र हरेक सेवामूलक संरचना सफल हुनेमा जोड दिएकी थिइन् । प्राप्त सामग्रीहरूको उचित प्रयोगले किरियापुत्रीको सेवामा सहजता प्रदान गर्ने अधिकारीको भनाइ थियो।

    उक्त सामग्री हस्तान्तरण कार्यक्रममा व्यासनगर आमा समूहकी सल्लाहकारहरू शिव घिमिरे, रुद्रमाया पौडेल लगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो। समुहकी सदस्य कमला काफ्लेले स्वागत गरेको कार्यक्रमको सचिव शर्मिला ओझाले सञ्चालन गरेकी थिइन्।