


नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई शिक्षाको हक सुनिश्चित गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनबमोजिम निःशुल्क शिक्षा पाउने अधिकारको प्रत्याभूति गरेको छ। सोही संवैधानिक मर्म र राष्ट्रिय शिक्षा नीति, २०७६ ले अवलम्बन गरेको ‘समावेशी शिक्षा’ को नीतिलाई कार्यान्वयन गर्दै व्यास नगरपालिकाभित्रका विद्यालयहरूमा सञ्चालित स्रोत कक्षाहरू अपाङ्गता भएका बालबालिकाका लागि आशाको केन्द्र बनेका छन्।
व्यास नगरपालिकाभित्रका श्री चण्डीदेवी राष्ट्रिय मावि, श्री जनसेवा प्रावि, श्री बुद्ध दाहाल बहिरा प्रावि, श्री सिद्धबेनी मावि र श्री सिन्धु आधारभूत विद्यालयमा सञ्चालित स्रोत कक्षाहरूको पछिल्लो स्थलगत अनुगमनले समावेशी शिक्षाको यथार्थ चित्रण गरेको छ। अनुगमनका क्रममा दृष्टिविहीन बालबालिकाहरू ब्रेल लिपि र ब्रेल स्लेटको सहायताले ज्ञान प्राप्त गरिरहेका छन् भने बहिरा तथा सुस्तश्रवण बालबालिकाहरू नेपाली सांकेतिक भाषाका माध्यमबाट आफ्ना विचार अभिव्यक्त गर्दै छन्। साथै, बौद्धिक अपाङ्गता भएका बालबालिकाहरू दैनिक जीवनका व्यावहारिक सीप र आत्मनिर्भरताका आधारभूत अभ्यासहरू सिक्दै छन्।
यी स्रोत कक्षाहरूमा भौतिक पूर्वाधार र अत्याधुनिक प्रविधिको सीमितता रहे तापनि त्यहाँ कार्यरत स्रोत शिक्षक र सुसारे आयाहरूको समर्पणले समावेशी शिक्षाको व्यावहारिक पाटोलाई जीवन्त तुल्याएको छ। विद्यार्थीलाई अक्षर चिनाउनु मात्र नभई उनीहरूलाई अपाङ्गतामैत्री वातावरणमा घुलमिल गराउन शिक्षक र सुसारे आयाहरूले निर्वाह गरेको भूमिकाले शिक्षाको पहुँचलाई फराकिलो बनाएको छ।
तथापि, समावेशी शिक्षाको वर्तमान नीति र कानुनले परिकल्पना गरेबमोजिमका संरचना निर्माणमा अझै चुनौतीहरू देखिएका छन्। आधुनिक ब्रेल पुस्तक, टकिङ बुक, स्क्रीन रिडर सफ्टवेयर, ह्विलचेयर तथा कमोड चेयरजस्ता सहायक सामग्रीको अभावले सिकाइको गुणस्तरमा बाधा पुर्याएको छ। साथै, अपाङ्गतामैत्री भौतिक संरचना, स्रोत शिक्षकको रिक्त दरबन्दी परिपूर्ति र आवासीय विद्यालयको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउनु स्थानीय तहको दायित्वभित्र पर्दछ।
अपाङ्गता भएका बालबालिकालाई विद्यालय भर्ना गराउनु मात्रै समावेशी शिक्षाको पूर्णता होइन। गुणस्तरीय, सुरक्षित र प्रविधिमैत्री सिकाइ वातावरण निर्माण गर्नु नै समावेशी शिक्षाको वास्तविक मर्म हो। व्यास नगरपालिकाले सीमित स्रोतसाधनका बीच पनि आशा जगाउने कार्य गरेको छ र अब राज्यको नीतिअनुसार आवश्यक विशेष प्रविधि र पूर्वाधारमा थप लगानी बढाउनु अपरिहार्य छ।
अपाङ्गता कमजोरी होइन, यो अवसरको अभाव हो भन्ने संवैधानिक मान्यतालाई आत्मसात् गर्दै, आवश्यक सहयोग र गुणस्तरीय वातावरण सुनिश्चित गर्न सके यी बालबालिकाहरू समाजका सक्षम र आत्मनिर्भर नागरिक बन्न सक्ने तथ्य व्यासका स्रोत कक्षाहरूले प्रमाणित गरेका छन्। अब यस सम्भावनाको कथालाई सफलताको नयाँ अध्यायमा रूपान्तरण गर्न राज्य, स्थानीय सरकार, विद्यालय र सम्पूर्ण समाजको साझा पहल आवश्यक छ।