


काठमाडौ, १९ असार । नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। हिमालयन कार्बन प्राइभेट लिमिटेडले नेपाली जलविद्युत आयोजनाबाट उत्पादित अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (International Renewable Energy Certificates–I-RECs) को पहिलो ब्याच सफलतापूर्वक निष्कासन तथा हस्तान्तरण गरेको घोषणा गरेको हो।
यो उपलब्धिसँगै नेपालको जलविद्युतबाट उत्पादित स्वच्छ ऊर्जा पहिलो पटक औपचारिक रूपमा अन्तर्राष्ट्रिय वातावरणीय वस्तु (Environmental Commodities) बजारसँग जोडिएको छ। अब विश्वभरका बहुराष्ट्रिय कम्पनी, दिगोपन अभियानमा अग्रणी संस्था तथा RE100 मा आबद्ध कम्पनीहरूले नेपालको प्रमाणित हरित ऊर्जा खरिद गरी आफ्नो कार्बन उत्सर्जन न्यूनीकरणका लक्ष्य पूरा गर्न सक्नेछन्।
हस्तान्तरण गरिएको प्रत्येक I-REC ले राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह भएको १ मेगावाट-घण्टा (1 MWh) शून्य-उत्सर्जन जलविद्युत उत्पादनको प्रतिनिधित्व गर्छ। दोहोरो गणना रोक्न र वातावरणीय विश्वसनीयता कायम गर्न सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, यो प्रणाली लागू भएपछि नेपाली स्वतन्त्र ऊर्जा उत्पादक (IPP) हरूका लागि आम्दानीको नयाँ स्रोत खुल्नेछ। साथै स्वच्छ ऊर्जा क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) आकर्षित गर्न तथा नेपालको हरित ऊर्जा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
हिमालयन कार्बनले अब देशभरका थप नदी प्रवाही (Run-of-river) र जलाशययुक्त (Storage-based) जलविद्युत आयोजनाहरूलाई पनि I-REC प्रणालीमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। आगामी दुई वर्षभित्र नेपालको वार्षिक I-REC उत्पादन क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गरी नेपाललाई वातावरणीय विशेषतासम्बन्धी प्रमाणपत्रको क्षेत्रीय केन्द्र बनाउने लक्ष्य कम्पनीको रहेको छ।
नेपालमा आधारित हिमालयन कार्बन प्राइभेट लिमिटेड कार्बन सम्पत्ति व्यवस्थापन, वातावरणीय वस्तु दर्ता तथा स्थानीय नवीकरणीय ऊर्जा परियोजनालाई अन्तर्राष्ट्रिय कार्बन र स्वच्छ ऊर्जा बजारसँग जोड्ने क्षेत्रमा कार्यरत क्लाइमेट टेक तथा दिगोपन समाधान कम्पनी हो।