


लमजुङ, १२ साउन । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।
मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा पुगेको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरेको थियो। प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि बिहान ४:१० बजे पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको छ।
घाइते हुनेहरूमा ५० वर्षीया शुकमाया बिक, ५९ वर्षीय टिकबहादुर बिक, १५ वर्षीया बिनिता बिक र १६ वर्षीया अस्मिता बिक रहेका छन्। उनीहरू सबै हाल मध्यनेपाल–७ भाटबेशीमा बसोबास गर्दै आएका हुन्।
घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।