तनहुँमा चार्जिङ स्टेशन निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चार्जिङ स्टेशन निर्माण

    कृष्ण न्याैपाने

    ५ असाेज, २०८१

    तनहुँ/पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण गरिएकाे छ । विद्युतीय सवारी साधनको प्रबद्र्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्य सहित डुम्रेमा चार्जिङ स्टेशन निर्माण गरिएकाे हाे ।
    सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण गरिएकाे डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । चार्जिङ स्टेशनका लागि वन कार्यालयले रु पाँच लाख अनुदान सहयोग गरेको छ ।
    वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदान अन्तर्गत विद्युतीय सवारी साधनलाई प्रबद्र्धन गर्ने र पेट्रोलियम पदार्थ खपत कम गर्दै वातावरणमा शुद्धता ल्याउने उद्देश्य सहित तनहुँमा पहिलो पटक चार्जिङ स्टेशन निर्माण गरिएको बरालले जानकारी दिनुभयो । “काठमाडौ र पोखराको केन्द्रविन्दुमा चार्जिङ स्टेशन निर्माण हुने भएकाले यहाँ निर्माण भएकाे स्टेशनले धेरैलाई प्रत्यक्ष लाभ पुग्नेछ,” उहाँले भन्नुभयो, “यस चार्जिङ स्टेशनबाट साना तथा ठूला विद्युतीय सवारी साधन चार्ज गर्न सकिन्छ ।”
    चार्जिङ स्टेशनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले गर्नेछ । निजी क्षेत्रलाई स्टेशन निर्माण र विद्युतीय सवारी साधन प्रबद्र्धनका लागि पनि सरकारी क्षेत्रले नेतृत्व गर्नुपर्छ भन्ने लक्ष्यकासाथ प्रमुख शहरी क्षेत्र र मुख्य तथा सहायक राजमार्ग आसपास हुनेगरी स्टेशन निर्माणका लागि सरकारले प्रक्रिया अगाडी बढाएको थियो । सवारी साधनको आवागमन भइरहने नेपालका मुख्य शहरभित्रका मूल सडक तथा मुख्यमुख्य राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुराँको पार्किङस्थल चार्जिङ स्टेशनका लागि उपयुक्त हुने देखिएको छ ।