राजमार्गमा सडक भासिएपछि यातायात सञ्चालन कठिनाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजमार्गमा सडक भासिएपछि यातायात सञ्चालन कठिनाई

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०७७, बुधबार

    तनहुँ/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा सडक भासिएपछि यातायात सञ्चालनमा कठिनाई भएको छ । मङ्गलबार बिहान ८ बजे नाहालामा करीब १० मिटर सडक भासिएको थियो ।

    सोही ठाउँमा डाइभर्सन बनाएर दिउँसो २ः३० बजेबाट सवारी साधन सञ्चालन गरिएको भएपनि राति पुनः समस्या आएको इलाका प्रहरी कार्यालय डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । डाइभर्सन बनाइएको ठाउँ हिलाम्य र दबिने खालको माटो भएका कारण सवारी साधन सञ्चालन गर्न कठिनाई भएको श्रेष्ठले बताउनुभयो ।

    उहाँका अनुसार उक्त ठाउँमा मङ्गलबार राति १५–२० वटा गाडी फसेका थिए । फसेका गाडी निकाल्ने क्रममा एक जना व्यक्ति घाइते समेत भएका छन् । उक्त ठाउँमा फसेका ट्रक, बस निकालिएपनि अहिले उक्त ठाउँमा बाटो ठप्प जस्तै छ । “डाइभर्सन बनाएर साना सवारी साधन सञ्चालन भएपनि राति बस, ट्रक फसेर समस्या भयो, क्रेन प्रयोग गरेरै १५–२० वटा गाडी निकाल्यौ, ग्राभेलिङ नगरी सवारी चलाउन सकिदैन,” उहाँले भन्नुभयो । बाटो बन्द भएका कारण डुम्रेतर्फ आएका करीब ९० वटा र दमौलीतर्फबाट आएका एक सय सवारी रोकिएका छन् ।

    निरन्तरको वर्षाका कारण मङ्गलबार तनहुँका विभिन्न ठाउँमा पहिरा गएर राजमार्ग अवरुद्ध भएको थियो । पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा खसेको पहिरा रातिसम्म हटाएर राजमार्ग सुचारु भएको थियो ।