८ करोड लगानीमा पोखराको सेती खोँचमा नयाँ बन्जी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ८ करोड लगानीमा पोखराको सेती खोँचमा नयाँ बन्जी

    विष्णुकान्त घिमिरे

    १० श्रावण २०७७, शनिबार

    पाेखरा/तनहुँ राइपुरका सन्तोष भट्टराई रोजगारीको सिलसिलामा सन् २००३ मा मलेसिया पुग्नुभयाे । त्यतिबेला  एड्भेन्चर उहाँको सपना थिएन, थियो त केवल पैसा कमाउने अभिलाषा । सन्तोषले रोलर कोस्टरमा काम पाउनुभयाे। त्यहीँबाट उहाँलाई एड्भेन्चरको ज्ञान र रुची बढ्यो ।

    केही वर्षको मलेसिया बसाईपछि उहाँ मकाउ हानिनुभयाे । भर्खरै एड्भेन्चरको भुत चढेको बेला उहाँले मकाउस्थित विश्वकै अग्लो बन्जी एजे हृयाकेटमा काम गर्ने अवसर पाउनुभयाे । बन्जी क्रुबाट काम शरु गरेका उहाँ त्यहाँको बन्जी मास्टर मात्र बन्नुभएन त्यही जागिरले उहाँलाई न्युजिल्यान्ड, चीन, सिङ्गापुर, जापानमा बन्जीमास्टरको रुपमा काम गर्ने र अझ सिक्ने मौका जुरायो । एडभेन्चरमा रमाउने लत बसेका सन्तोषले विदेशमा डेढ दशक विदेशमा बिताएपछि हाल साथीहरूसँग मिलेर नेपालको पर्यटकीय राजधानी पोखरामा नयाँ बन्जी निर्माण गरिरहनुभएकाे छ ।

    बन्जी नेपाल एड्भेन्चर्स प्रालि खोलेर पोखरा १७, महतगौंडा (माउन्टेन म्युजियमको आडैमा) बनाइरहेको बन्जी लेकसाइडबाट जम्मा तीन किलोमिटर दूरीमा छ । टावर निर्माणको सकिएको छ । बन्दाबन्दीले गर्दा जापानबाट  प्राविधिक र केही सामान आउन बाँकी भएकाले अन्तर्राष्ट्रिय उडान शुरु भएको केही हप्तामै सञ्चालनमा आउने बताइएको छ ।

    सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, भूपालबहादुर बराल क्षेत्री, शान्ति लम्साल भट्टराई र बुद्धिनाथ बरालको ८ करोड लगानी रहेको छ । क्यान्टिलिभर ब्रीजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पका लागि ५५ मिटर लामो प्लाटर्फम निर्माण गरिएको छ ।सेती नदीको खोँचमा बनिरहेको बन्जीको प्लाटर्फम नदि देखि १२१ र १२५ मिटरमा हुनेछन् । साधारण बन्जी १२१ मिटर अग्लो प्लाटर्फमबाट गराइने र साइकल जम्प, बकेट जम्प लगायत बिशेष जम्प १२५ मिटर अग्लो प्लाटर्फमबाट गराइने भट्टराईले बताउनुभयाे । एड्भेन्चर फोटोग्राफी र भिडियोग्राफीमा काम गर्दै आएको कम्पनी मदानी क्रियसनले बन्जी गर्न आउने ग्राहकको फोटो भिडियो बनाउने भट्टराईले जानकारी दिनुभयाे । बन्जीको निर्माण आइएसो स्टाण्डर्डमा गरिएको भट्टराईको दाबी छ । अन्तर्राष्ट्रिय स्तरमा बन्जीको लोकप्रिय नाम ‘गो बन्जी’सँगको प्राविधिक समन्वयमा काम भइरहेको भट्टराई बताउनुहुन्छ । बन्जीकै लागि बनाइएको ३५ मिटर अग्लो टावरलाई भ्यु टावरको स्वरुप दिइँदैछ, जहाँ टावर क्लाइम्बिङ गर्न सकिन्छ । बन्जी परिसरमै कार्यालयसँगै रेस्टुरेन्ट समेत निर्माण भईसकेको छ ।