२०४६ सालमा प्रजातन्त्र स्थापना हुनु अगाडी ग्रामीण भेगमा मालसामान ढुवानी वाहकको रुपमा भरिया नै प्रयोगमा आउँथ्यो । लामो दूरी र दुर्गम बस्तीहरुमा खच्चडको माध्यमद्वारा आवश्यक सामग्रीको ढुवानी हुन्थ्यो । त्यसबेला भरिया र खच्चडलाई बढी प्राथमिकता दिइने चलन थियो । २०४६ सालमा प्रजातन्त्र स्थापित भएसँगै शहरदेखि ग्रामीण क्षेत्रका गाउँ बस्तीहरुसम्म विकास, विनास र निकास तीनवटै विषयको निर्माण कार्य शुरु भयो । पहिलो विकास, ठूला उपकरण औजारले बाटो खनेर ग्रामीण गाउँबस्ती सम्म पु¥याउने । दोस्रो, खनिएको बाटोको दायाँबायाँ पहिरिने सम्भावित डिलहरु काटछाँट नगर्नु साथै सडक निर्माण गर्दा नाली नबनाउनु नै हो । गाउँ बस्तीमा डोजर भित्रिएसँगै गाउँलेका घर, गोठ र आँगनबाट बाटो निर्माण गर्ने होडबाजीले झनै जोखिम बढाएको छ । जसले गर्दा वर्षेनी वर्षायाममा पहिरिने र भासिने झनै खतरा बढाएको छ । जथाभावी रुपमा बनाइएको बाटोघाटोले मानिसको जीवन नै खतरामा पु¥याएको छ, जसको पछिल्लो उदाहरण तनहुँमै देखिएको छ । गाउँ–गाउँमा खनिएका बाटोले गर्दा वर्षामा आएको पहिरोले पुरिएर सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको छ । तेस्रो निकास, पहिरोको क्षतिलाई पन्छाउनु मात्रै हैन, दुःख व्यक्त गरेर सँधैका लागि विपद् टर्न सक्दैन । जुनसुकै निर्माण कार्य शुरु गर्नुपूर्व दीर्घकालिन योजनाको खाका तयार गर्न जरुरी छ । ग्रामीण गाउँ बस्तीमा विकासे योजना सँगसँगै पचास साठी घरधुरी एकै ठाउँमा बसोबास गर्न सक्ने पूर्वाधारको आवश्यकता खड्किएको छ । जसले गर्दा बिजुली, पानी लगायत विस्तार गर्न सहयोग पुगोस् । एकीकृत बस्ती बसाउनका लागि सरोकारवाला निकाय र स्थानीय तहले पहिलो प्राथमिकतामा राखी अहम् भूमिका खेल्न सक्नुपर्छ । तबमात्र सँधैभरि हुने गरेका क्षति कम हुँदै जानेछन् ।