प्रहरीकाे अभियानले निरन्तरता पाउला ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    प्रहरीकाे अभियानले निरन्तरता पाउला ?

    गाेरा मियाँ

    १५ श्रावण २०७७, बिहीबार

    नयाँ प्रहरी प्रमुखको आगमनसँगै फरार रहेका प्रतिवादी धमाधम पक्राउ पर्न थालेका छन् । असार ९ गते तनहुँ प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक अरुण पौडेल हाजिर हुनुभएको छ । प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै पौडेलले सञ्चारकर्मीसँगको भेटमा फरार अभियुक्त पक्राउ, लागुपदार्थ दुव्र्यसनी नियन्त्रण, आपराधिक क्रियाकलाप र गुण्डागर्दी नियन्त्रण, दुर्घटना न्यूनीकरण लगायतका विषयलाई प्राथमिकताका साथ सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । सोही बमोजिम बुधबारसम्म २१ जना फरार प्रतिवादी पक्राउ पर्न सफल भएका छन् । सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बहुविवाह, ज्यान मार्ने उद्योग, वन मुद्दा लगायतमा वर्षौदेखि फरार रहेका प्रतिवादी पक्राउ परेसँगै जिल्लाका सर्वसाधारणले प्रहरीको सराहना समेत गरेका छन् भने कतिपयले नयाँ प्रहरी प्रमुखको शुरुवाती जोश मात्रै हो की भन्ने टिप्पणी समेत गरेका छन् । जिल्लामा आउने बित्तिकै केही नयाँ काम गरेर देखाउन खोज्ने प्रहरीको अभियान नयाँ होइन, विगतमा पनि प्रहरी प्रमुखले जिल्ला आउने बित्तिकै केही काम गरेर चर्चा बटुल्न खोजेकै थिए । अहिले आउनुभएका प्रहरी प्रमुखले पनि शुरुवाती दिनमा चर्चा मात्रै बटुल्न खोज्नुभएको हो की आगामी दिनमा पनि उक्त कामको निरन्तरता हुन्छ, त्यो भने उहाँकै कार्यशैलीले प्रष्ट पार्ने नै छ । यद्यपि प्रहरीले अहिले सञ्चालन गरेको अभियान उदाहरणीय छ । कसुर गरेर वर्षौदेखि फरार भई कानुनी राज्यको उल्लङ्घन गर्ने जोसुकै भएपनि कठघरामा आउनैपर्छ, चाहे ढिलो होस् वा चाँडो । गल्ती गर्नेले उन्मुक्ति पाउँदैनन् भन्ने सन्देश प्रहरीले दिन खोजेको छ । चर्चामा आउनका लागि मात्रै नभई निरन्तर रुपमा यो अभियान प्रहरीले सञ्चालन गर्नुपर्छ । प्रहरीको यो अभियानमा सर्वसाधारणले पनि साथ र सहयोग गर्नुपर्छ । भनिन्छ नी जनता पनि बिना बर्दीका प्रहरी हुन्, सर्वसाधारणको सहयोग बिना प्रहरी एक्लैले पनि केही गर्न सक्दैन । तसर्थ, शान्ति सुरक्षा कायम, आपराधिक घटना न्यूनीकरण, लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका लागि प्रहरी र जनता हातेमालो गरेर अगाडी बढ्न सके सुन्दर समाज निर्माण निश्चित छ ।