जनकवि गोकुल जोशीको जन्मथलो कुर्दैछ विकास (रिपोर्ट सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनकवि गोकुल जोशीको जन्मथलो कुर्दैछ विकास (रिपोर्ट सहित)

    विनोद ढुंगाना

    २१ श्रावण २०७७, बुधबार

    तनहुँ । ‘भोकभोकै मर्न लागे कवि कलाकार’
    ‘तड्पाएर नमारिदेऊ झुण्ड्याएर मार’


    जनकवि गोकुश जोशीको प्रसिद्ध गीति हरफ हो यो । उहाँले सदैव गरिबको पीडा लेख्नुभयो । वर्गीय शोषण, उत्पीडन र दमनको विरुद्धमा आगो ओकल्ने कविको छवि बनाउनुभएका उहाँले गरिबका पीडालाई गीत र कविताको माध्यमबाट बोल्नुभयो । ठूलाठालुले तल्लो वर्गलाई नगन्ने परिपाटीलाई व्यङ्ग्य गर्ने क्रान्तिकारी कवि जोशीका सिर्जनाले तत्कालिन समयमा फटाहा विरुद्धको सङ्घर्षमा उत्रन धेरैलाई प्रेरित ग¥यो ।


    प्रगतिशील लेखक सङ्घका संस्थापक सदस्य जोशीका ‘नेपालको भविष्य’, ‘एशियाको फूलबारी नेपाल’, ‘नव प्रभात’, ‘बाँच र बाँच्न देऊ’ र ‘सीमानाको दिप’ लगायतका ऊर्जाशील कृतिहरू प्रकाशित छन् ।

    सर्वहारा वर्गको मुक्तिका लागि चेतनाको बिगुल फुक्दै हिँड्नुभएका जोशीको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउने धोको छ गाउँलेलाई । जन्मथलोलाई परिचित गराउने सपनाको यात्रा त आरम्भ गरिएको छ । तर, आर्थिक अभावले सुस्त छ ।


    विसं २०१८ सालमा ३१ वर्षकै उमेरमा झापाको घैलाडुबामा निधन भएपनि उहाँले छोटो अवधिमा नेपाली साहित्यले बिर्सनै नसक्ने योगदान पु¥याउनुभएको छ । जोशीको जन्म विसं १९८७ जेठ ८ गते तनहुँको राईपुरस्थित खोलाखेतमा भएको हो । खोलाखेत हालको शुक्लागण्डकी नगरपालिका–११ मा पर्दछ । सर्वहारा वर्गको मुक्तिको सपना देख्ने कवि जोशीको जन्मथलो खोलाखेतले विकास पर्खदै छ, त्यो पनि साहित्यिक विकास ।


    सर्वहारा वर्गको मुक्तिका लागि चेतनाको बिगुल फुक्दै हिँड्नुभएका जोशीको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउने धोको छ गाउँलेलाई । जन्मथलोलाई परिचित गराउने सपनाको यात्रा त आरम्भ गरिएको छ । तर, आर्थिक अभावले सुस्त छ ।

    गोकुल स्मृति प्रतिष्ठानले तीन वर्ष अगाडी स्मृति पार्क बनाएको छ । पार्कमा साढे दुई फिट अग्लो अर्धकदको प्रस्तर मूर्ति ठड्याईएको छ । यो बाहेक अन्य विकास भएको छैन ।


    मुलुकमा सङ्घीय शासन प्रणाली स्थापित छ । तीन तहका सरकार छन् । अझ भनौ दुई तिहाईको कम्युनिष्ट सरकारले देश हाँकिरहेको छ तर क्रान्तिकारी कविको थलोमा नजर भने कसैको परेको छैन ।


    गोकुल भूमि विकासले ज्यादै पछाडी परेको प्रतिष्ठानका अध्यक्ष लोकनाथ शर्माले बताउनुभयो । तनहुँ र स्याङ्जाको सीमानामा पर्ने भएकाले पनि विकासले धेरै पछाडी परेको उहाँको अनुमान छ । गोकुलको जन्मथलो कसैको नजरमा परेन । यहाँसम्म आउने सडकको अवस्था विजोग छ,’ उहाँले दुखेसो पोख्दै भन्नुभयो, ‘उहाँ (गोकुल)को स्मृतिमा पार्क त जेनतेन बनायौं, अरु विकासको काम भने अधुरै रह्यो ।’ गोकुल पार्कसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्न सके साहित्यप्रेमीको आउजाउ बढ्नेमा शर्मा विश्वस्त हुनुहुन्छ ।

    रिपोर्ट सुन्नुहोस


    शर्माको भनाईसँग ठ्याक्कै सहमत हुनुहुन्छ शुक्ला साहित्य सङ्गम तनहुँका अध्यक्ष वेणुप्रसाद खतिवडा । ‘त्यहाँ आउजाउ गर्नलाई सडककै समस्या छ । सडक विकासको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘सङ्ग्रहालय बनाएर जोशीका लेख रचनाको अध्ययन अनुसन्धान केन्द्र विकास गर्नुपर्ने देखिन्छ । त्यसका लागि फेरि आवतजावत सहज हुनुपर्ने हुन्छ ।’


    राजमार्गबाट दूरीका हिसाबले नजिक भएपनि खोलाखेतसम्म पुग्ने सडक कठिन भएकाले साहित्यिक रुपमा पनि विकास हुन नसकेको उहाँले दाबी गर्नुभयो । साहित्यिक कार्यक्रमको माध्यमबाट गोकुल जन्मथलोलाई चर्चामा ल्याउन सकेमा मात्र पनि उहाँप्रति सच्चा सम्मान हुने खतिवडाले बताउनुभयो । ‘साहित्यिक संस्थालाई आर्थिक समस्या पर्ने भएकाले चाहेजस्तो विकास हुँदैन,’ उहाँले भन्नुभयो । राज्यले जोशीलाई गर्नुपर्ने सम्मान नगरेको सुनाउनुभयो उहाँले । स्थानीय तह पनि जोशीको सम्मानमा उदार नदेखिएको खतिवडाले आरोप लगाउनुभएको छ ।

    तिनै तहका सरकारले पर्यटन सम्बृद्धीको आधार भन्दै प्राथमिकता दिएका छन् । तर, साहित्यिक पर्यटन भने त्यति प्राथमिकतामा परेको पाईदैन् । गोकुल जन्मभुमीलाई साहित्यिक पर्यटन केन्द्रको रुपमा विकास गर्न सके देशी विदेशी साहित्यकारको जमघटस्थल बन्न सक्थ्यो की !

    चालु आर्थिक वर्षका लागि शुक्लागण्डकी नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा गोकुल जोशी प्रतिष्ठानलाई व्यवस्थित गर्न प्रदेश सरकारसँग समन्वय गर्ने उल्लेख गरेको छ । यसरी नीति तथा कार्यक्रममै समावेश गरेपछि विकास हुन्छ की भन्नेमा आशावादी छन् सरोकारवाला ।

    जोशीको जन्मथलोलाई चिनाउन प्रचारप्रसारमा लाग्ने शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताउनुभयो । ‘प्रतिष्ठानको कार्यविधि र नियमावली बनाएर जोशीको स्मृतीमा बनाईएको पार्कलाई व्यवस्थित गर्छौ । उहाँले रचना गरेका कृति प्रकाशन गर्ने र नेपाली साहित्यमा पु¥याएको योगदानबारे आम जनतामाझ पु¥याउन अध्ययन केन्द्र बनाउने गरी प्रतिष्ठानको खडा हुनेछ,’ उहाँले भन्नुभयो ।