तीन हप्तादेखि झापुटार–चालिसे मोटरमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तीन हप्तादेखि झापुटार–चालिसे मोटरमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, शुक्रबार

    तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे मोटरमार्ग तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको भीषण वर्षापछि आएको पहिराले उक्त मार्ग अवरुद्ध भएको हो ।

    पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ गाउँपालिका–४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो । ”झापुटारभन्दा थोरै माथि पक्की रहेको बाटो नजिकबाट पाँच वटा ठूला ठूला पहिरा झरेका छन्,” उहाँले भन्नुभयो, “कतिपय ठाउँमा त बाटोको निशाना नै नरहने गरी पहिरा झरेर समस्या भएको छ ।”

    रानाभाटका अनुसार अधिकांश ठाउँको पहिरा हटाइसकिएको र अब एक ठाउँको मात्रै पहिरा हटाउन बाँकी छ । “झापुटारबाट ठूलो मेशिनको प्रयोग गरेर बाटो सफा गरिएपनि ठाउँ–ठाँउमा पानीको निकास मिलाउनुपर्ने भएकाले बाटो सुचारु गर्न समय लागेको हो,” उहाँले भन्नुभयो । ऋषिङ गाउँपालिका–२ डाँडाखुँदीको उकालोको पहिरा हटाएर एक÷दुई दिनमा नै चालिसेसम्मको बाटो सफा गरिने रानाभाटले जानकारी दिनुभयो ।

    तीन सातादेखि पहिराले मोटरमार्ग अवरुद्ध हुँदा सवारी मार्फत् गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ । तर पैदल हिँड्नका लागि भने कुनै समस्या नरहेको रानाभाटले बताउनुभयो । “पैदल हिँड्नका लागि छोटो दूरीको बाटो छ, सवारी साधनमा जाने सर्वसाधारणलाई भने बाटो बन्द भएका कारण समस्या भएको छ,” रानाभाटले भन्नुभयो ।