चितुवा र मानवबीचकाे द्वन्द्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    चितुवा र मानवबीचकाे द्वन्द्व

    गाेरा मियाँ

    २३ श्रावण २०७७, शुक्रबार

    विसं २०७४ फागुन १ गते तनहुँकाे भानु नगरपालिका-१ मा चितुवाकाे आक्रमणबाट एक बालककाे ज्यान गयाे । चितुवाकाे आक्रमणबाट ज्यान गएकाे तनहुँमा पहिलाे घटना थियाे त्याे । त्यसयता जिल्लामा चितुवाकाे आक्रमण बढ्दै गइरहेकाे छ । चितुवाकाे आक्रमणबाट भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा दश जना बालबालिकाकाे मृत्यु भएकाे छ । चितुवाकाे आक्रमणबाट ज्यान गुमाउनेमा डेढ महिनाका देखि १० वर्षसम्मका बालबालिका छन् । चितुवा र मानवबीचकाे द्वन्द्वकाे याे घटनाले समग्र तनहुँवासीलाई चिन्तित तुल्याएकाे छ ।

    चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको वन कार्यालयका प्राविधिककाे भनाई छ । चितुवा जङ्गली जीवजन्तमा आश्रित जनावर हाे । चितुवाले घरपालुवा कुकुर, बाख्रा, गाईकाे बाच्छाबाच्छीलाई पनि आक्रमण गर्ने गरेकाे छ । आजभाेलि सामुदायिक वन माँसिदै जाने र वनमा पाइने जङ्गली जनावरलाई मानिसले शिकार गरेर मारिदिने गर्नाले चितुवा आहाराकाे खाेजीमा मानव वस्तीमा पस्न थालेकाे छ । नरभक्षी चितुवाले बालबालिकाकाे ज्यानै लिन थालेपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास नगरेकाे भने हाेइन । ठाउँ-ठाउँमा खाेर थापेर कार्यालयले स्थानीयवासीकाे सहयाेगमा एक वर्षकाे अवधिमा आठ वटा चितुवालाई समातेर अन्यत्र जिल्लामा स्थानान्तरण गरिसकेकाे छ । तैपनि चितुवाकाे आक्रमण राेकिएकाे छैन । तनहुँमा चितुवाकाे सङ्ख्या कति छ भन्ने एकिन छैन । नरभक्षी चितुवाकाे आक्रमणबाट नागरिककाे जिउधनकाे सुरक्षा गर्नु डिभिजन वन कार्यालयकाे जिम्मेवारी हाे । सबैजसाे आक्रमणकाे घटना रातिकाे समयमा भएकाले राति बालबालिकालाई घरबाहिर एक्लै नछाडन् नागरिकलाई सचेतना जगाउँदै चितुवाकाे आक्रमण नियन्त्रणतर्फ वन कार्यालय लगायत सबै सराेकारवाला निकायले प्रभावकारी कदम चाल्न ढिलाई नगराेस् ।