काठमाडौ । कोभिड-१९ को सङ्क्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो ।
पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको हो । सर्लाहीका पुरुषलाई कुकुरले टोकेको थियो र, साउन १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
यस्तै रुपन्देही, सुनौलीकी महिला पनि साउन १९ गते नै अस्पताल भर्ना भएकी थिइन् । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा शुक्रबार दिउँसो ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।
सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो ।
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार मिर्गाैला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए । उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
शुक्रबार विहान मृत्यु भएका उनको दिउँसो कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा शुक्रबार विहान मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको मृत्युपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।