भारतको केरलामा विमान दुर्घटना १७ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतको केरलामा विमान दुर्घटना १७ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०७७, शनिबार

    काठमाडौं । भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।

    दुबईबाट आएको हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो । अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो ।

    भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो ।

    हवाईजहाजमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । यात्रुहरुमा १० जना बच्चा पनि थिए ।दुर्घटनामा घाइते भएका १२३ जना यात्रुहरुलाई अस्पताल भर्ना गरिएको छ । २० जना घाइते गम्भीर अवस्थाका छन् ।

    सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।

    भारतको नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले दुर्घटनाको जाँच गर्न दुई वटा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।

    दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । केही दिनयता केरलामा भारी वर्षा, बाढी र पहिरो गइरहेको छ । शुक्रबार बिहान केरलाको मुन्नारमा पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।