तनहुँ । सामुदायिक वन दिवसको अवसरमा आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मा वृक्षारोपण गरिएको छ । सेती, म्याग्दे र क्याङ्दीको सङ्गमस्थलमा दिवसको अवसरमा वृक्षारोपण गरिएको हो ।
डिभिजन वन कार्यालय तनहुँ र सामुदायिक वन उपभोक्ता महासङ्घको आयोजनामा भएको कार्यक्रममा श्रीखण्ड, बेल, कपुर, अशोका लगायतका तीन सय बिरुवा रोपिएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले सामुदायिक वनको संरक्षण गर्ने जिम्मेवारी समुदायको भएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका अध्यक्ष कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर क्षेत्री, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य मुक्ति तिमिल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।