तनहुँ । साउन भगवान शिवको प्रिय महिना हो । हिन्दु धर्म अनुुसार साउनको सोमबार शिवभक्तहरु ब्रत बसी शिवालयमा धाउने र पुजाअर्चना गर्ने गर्दछन् । यो बर्ष भने शिवालयहरुमा भक्तजनको त्यति घुइँचो देखिएन । कारण, विश्वव्यापी सङ्कट निम्त्याएको कोरोना भाईरसको सङ्क्रमण फैलने जोखिम ।
साउन महिनामा सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्दथ्यो । तर, यो वर्ष कतैपनि शिवालयमा भक्तजनको भिड देखिएन । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा रहेको प्रसिद्ध धार्मिकस्थल देवघाटधाम सुनसान बन्यो । साउनमा लाग्ने बोलबम मेला यसबर्ष आयोजना भएन ।
१५ वर्षदेखि त्यहाँ निरन्तर साउनको हरेक सोमबार बोलबम मेला आयोजना हुदै आएको थियो । कोरोना भाईरस(कोभिड–१९) को सङ्क्रमण फैलने जोखिम भएकाले सरकारले धार्मिकस्थलहरु बन्द गर्न गरेको आग्रह बमोजिम देवघाटमा बोलबम मेला नगरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार असार अन्तिम साता नै यो वर्ष साउनमा बोलबम मेला नहुने भएकाले स्नान र पुजाअर्चनाका लागि देवघाट नआउन भक्तजनलाई सुचित गराईएको थियो ।
विगतका वर्षको तथ्याङ्कलाई हेर्ने हो भने साउन महिनामा मात्र देवघाटमा पाँच लाख बढी दर्शनार्थी आउने गरेका थिए । पौडेलका अनुसार धेरै भिडभाड हुने भएकाले यो वर्ष देवघाट क्षेत्र प्रवेशमा रोक लगाईएको हो । देवघाट प्रवेशद्वारमा प्रहरी पोष्ट नै राखिएको छ । देवघाट क्षेत्र सुनसान हँुदा त्यस क्षेत्रका आश्रम, गुरुकुल, मठमन्दिर, व्यापार, व्यवसाय र पर्यटन क्षेत्रमा व्यापक प्रभाव पारेको उहाँले सुनाउनुभयो । “भिडभाडमा कोरोना फैलने जोखिम बढी हुन्छ । त्यसैले पहिल्यै सचेतता अपनाएर देवघाट प्रवेशमा रोक लगाएका हौै,” देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले भन्नुभयो ।
पछिल्लो समय मिनी मुक्तिनाथको रुपमा परिचत शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित शुक्लागण्डकी मुक्तिनाथ च्यवनधाम पनि सुनसान रहेको छ । विशेषतः साउने सोमबार हुने शिवभक्तको भीड यसपाली देखिएन । स्थानीय पुजाअर्चनाका लागी मन्दिर आएपनि टाढाबाट आउने भक्तजन नआएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमेन्द्र लालचनले बताउनुभयो । पछिल्ला वर्षहरुमा यहाँ साउन महिनामा शिवपुराण लगाउने गरिन्छ । लालचनका अनुसार यसपाली मन्दिरकै पुजारीको मुखारवृन्दबाट शिवपुराणको पाठपारायण गरियो । तर, गएका वर्षहरुमा जस्तो भक्तजनलाई सहभागिताको लागि आह्वान गरिएन ।
“भगवान्को नाममा यसपाली शिवपुराण त लगाईयो । तर, भक्तजनलाई सुनाइएन । कोरोनाको डरले पुराण सुन्न आउन भनेनौ,” उहाँले भन्नुभयो । उहाँका अनुसार गतवर्ष साउनको सोमबारमा १० हजारसम्म भक्तजन आएका थिए ।
भीमाद नगरपालिका–९ धन्धुरमा रहेको सिद्ध गुफा पनि सुनसान बनेको गुफा विकास समितिका अध्यक्ष दधिराज सुवेदीले बताउनुुभयो । चार तले सिद्धगुफामा गएको वर्षसम्म साउन महिनामा भक्तजनहरु बढी आउने गरेको उहाँले उल्लेख गर्नुभयो ।
गुफामा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर शुभारम्भ गरिएतापनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले उक्त लक्ष्य तुहाईदिएको छ । नेपाल सरकारले भ्रमण वर्ष स्थगित गरेसँगै गुफाको कार्यक्रम पनि स्थगित गरिएको हो ।
साउनको हरेक सोमबार भगवान शिवको आराधना एवं ब्रत बस्दा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ । साउने सोमबार शिवलाई शुद्ध जल अर्पण गर्दा मनोकामना पूरा भई अटल शौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता रहेपनि यसपालि कोरोना भाईरसका कारण भक्तजनहरु मन्दिरसम्म पुग्ने वातावरण रहेन । भक्तजनले घरमै बसेर शिवको पूजाअर्चना गरेर मनाए । पछिल्लो वर्षमा जिल्लामा बोलबम संस्कृति पनि विकसित हुँदैछ । जिल्लाका विभिन्न स्थानमा बोलबम यात्रा निकाल्ने गरिएकोमा यसपालि त्यो पनि रोकिएको छ ।
साउनमा शिवालय सुनसान भएका हुन । तर, कोरोनाको सङ्क्रमण फैलन नदिन चैत ११ गतेदेखि सरकारले लागु गरेको लकडाउनसँगै बन्द भएका जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरु पनि अझै खुलेका छैनन । यहाँका ढोरबाराही, छाब्दीबाराही, अकलादेवी, छिम्केश्वरी माईको मन्दिर, व्यास गुफा, पराशर क्षेत्र पनि सुनसान रहेका छन् ।
लकडाउन पछि छिटफुट भक्तजन आउने गरेपनि मन्दिर खुला नगरिएको ढोरबाराही मन्दिरका पुजारी चिरञ्जवी लम्सालले बताउनुभयो । “लकडाउन पछि बिहान बेलुका खोलेर मन्दिरमा पुजाअर्चना गरिन्छ । भक्तजनलाई पूजाअर्चना गर्न भने खुला गरेका छैनौ । आएका भक्तजन पनि मन्दिर बाहिरबाटै दर्शन गरेर फर्र्कन्छन्,” उहाँले भन्नुभयो ।
पर्यटनको राजधानी पोखरासँगै जोडिएको तनहुँको धार्मिक पर्यटन कोरोनाले थला परेपछि धेरैको रोजीरोटी नै गुमेको छ ।