कोरोना उन्मुलनमा नागरिकको भूमिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    कोरोना उन्मुलनमा नागरिकको भूमिका

    गाेरा मियाँ

    १ भाद्र २०७७, सोमबार

    कोरोना भाइरसले विश्वका शक्तिशाली मुलुकहरुलाई घुँडा टेक्न बाध्य बनाइछाड्यो । संसारभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि छोडेन । कहीँकतै देखा परेको कोरोना भाइरसका नेपालमा गत चैत ११ गतेदेखि लकडाउन भयो । चार महिनाको लकडाउन हुँदासम्म समुदायस्तरमा कोरोना भाइरसको असर देखिएको थिएन । विभिन्न पेशा व्यवसाय गर्नेहरुले पसल खोल्न पाउनुपर्छ भन्ने जस्ता आवाज उठाएपछि लकडाउनलाई सरकारले केही खुकुलो बनाएको थियो । अधिकांश आम मानिसको बुझाई लकडाउन खुल्यो भन्ने सोचाईले पूर्वस्थिति अनुसार चल्न थाल्यो । बाह्य र छिमेकी मुलुकबाट आएकालाई क्वारेन्टिनमा राखी स्वाब परीक्षण गराई नतिजा अनुसारको उपचार विधि अपनाउँदा कोरोना नियन्त्रणमा कमी आएको थियो । एक महिनाको खुकुलो अवधिभित्र छिमेकी मुलुकबाट भित्रिनको संख्या अत्याधिक रह्यो । जसले गर्दा कोरोना महामारी नेपालमा झन् झन् बढेको र भयावह स्थिति सिर्जना हुन पुगेको छ ।

    कोरोनाले तनहुँलाई पनि आफ्नो चपेटामा पारिसकेको छ । जिल्लाभरि २ सय २० सङ्क्रमित रहेकामा १ सय ८२ जना उपचारपछि घर फर्किएका छन् । तनहुँ क्षेत्र नं १ मा समुदायस्तरमा कोरोना सङ्क्रमण समुदायमा फैलिसकेको छ । भानु नगरपालिकाका २४, व्यास नगरपालिकाका ५, देवघाट गाउँपालिकाका २ र बन्दीपुर गाउँपालिकाका १ जना समुदाय व्यक्तिमा कोरोना पुष्टि भएको छ । समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण देखिन थालेपछि जोखिम झनै बढेको छ । जोखिम नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि व्यास नगरपालिकामा एक हप्ता र भानु नगरपालिकामा दुई हप्ताका निषेधाज्ञा जारी गरेको छ । यस्तै आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकाले आ आफ्ना पालिकामा लकडाउन गरेका छन् । सम्पूर्ण जिल्लावासीको स्वास्थ्य हितका लागि सङ्क्रमणलाई न्यूनीकरण गर्न स्थानीय तह गम्भीर बनेको छ । मानव जगतमाथि आइपरेको कोरोनाको सङ्क्रमण विरुद्ध सबै नागरिकले आफू बचने र अरुलाई बचाउने वचनवद्ध गर्दै पालिकाले गरेका निर्णयको पालना गर्नुपर्ने अहिलेको आवश्यकता हो । हरेक नागरिक चेतनशील भई सामाजिक दूरी कायम गर्ने, अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुने र स्यानीटाइजर प्रयोग गरी कोरोनामुक्त अभियानमा जुट्न जरुरी छ । भीडभाडबाट टाढा रहेर सतर्क भई अत्यावश्यक सामान खरिद गर्न एक परिवारका एक सदस्य मात्रै हिँडडुल गर्ने बानी बसाल्ने हो भने पनि यसको जोखिम कम गर्न सकिन्छ । कोरोना सङ्क्रमणमुक्त गर्नका लागि आ आफ्नो तर्फबाट सबैले सहयोग गरी जोखिममुक्त तनहुँ जिल्ला बनाउने अभियानमा अगाडी बढ्नु आम नागरिकको कर्तव्य हो ।