तीजको शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    तीजको शुभकामना

    गाेरा मियाँ

    ५ भाद्र २०७७, शुक्रबार

    वर्षभरि खान पुग्ने अन्नबाली रोपेर भदौ महिना शुरु भएसँगै हिउँद लाग्यो भन्ने चलन नेपालमा चल्दै आएको छ । खेतीबाली लगाएपछि फुर्सदको समयमा आपसी प्रेम, मित्रता र सद्भाव बढाउन साथै महिलाहरुले दुःखेसो र पीडा पोख्ने पर्व हरितालिका तीज हो । तीज पर्वलाई नेपाली नारीहरुले विशेष उत्सवका साथ हरेक वर्ष मनाउँदै आइरहेका छन् । गाउँ बस्तीहरुमा रहेका शितल छहारी बगैंचामा नारीहरु जम्मा भई वर्षदिनमा भोगेका दुःख पीडाहरुलाई गीतका माध्यमबाट गाउने र नाच्ने गर्दछन् । रातो सारीमा बेरिएर धपक्क सुनका गहनाले सजिएर पार्टी प्यालेसदेखि शहर बजारका खुल्ला चौरमा छमछमी नाच्नुले तीजको विशेष झल्को दिने गरेको छ । पार्वतीले शिवजीलाई वरका रुपमा प्राप्त गर्न पाउँ भनी भाकल गरी मनोकामना सहित ब्रत बसेसँगै तीज मनाउने चलन शुरु भएको थियो । आजको दिनमा शिवमन्दिर र शिवालयहरुमा विवाहित र अविवाहित महिलाहरुको उपस्थिति उल्लेख्य हुने गर्दछ । वर्षभरि पर्ने चाडपर्वमध्ये तीज पर्व नारीहरुले महत्वका साथ मन खोलेर मनाउने प्रचलन रहेको छ ।

    तर यो वर्ष कोरोनाको महामारीका कारण तीज पर्व सुनसान जस्तै बनेको छ । सबै तहका सार्वजनिक स्थल र जमघट हुने ठाउँहरु कोरोना कहरका कारण बन्द गरिएका छन् । यस वर्षको तीज घरमा बसेर सुरक्षित रही परिवारका साथमा मनाउनुपर्ने बाध्यता आइपरेको छ । कोरोना महामारी अन्त्य भई आगामी सालमा पुनः रमाइलो गर्दै अवश्य तीज मनाउन पाइने आशा गर्न सकिन्छ । टेलिभिजन र विद्युतीय सञ्चारमाध्यममा तीज गीतको प्रदर्शन साथै प्रशारण हुन थालेसँगै महिलाहरुमा तीजको तडकभडक निकै भड्किलो हुने पनि गरेको थियो । रेकर्डिङ भएका विभिन्न गीतहरुमा नाचजान गरी महिलाहरु रमाउन थालेपछि मौलिक गीतहरु वर्षेनी ओझेलमा पर्दै गएका छन् । विगतका वर्षहरुमा तीज आउनु एक महिना अगाडीदेखि नै तडकभडक सहित तीज मनाउने प्रचलन व्याप्त थियो । तीजलाई तडकभडकरहित बनाउँदै वर्षभरिका कठिनाई र भोगेका अनेकौ विषयहरुको वस्तुपरक टुक्का गुथेर मौलिकभाका शैलीमा तीज गीत गाएर संस्कृतिको रक्षा गर्ने बानीको विकास आगामी वर्षमा सबै नारीहरुले गर्नुपर्ने बेला आएको छ । अहिलेको परिस्थितिमा चाडपर्व मनाउँदा अनावश्यक फजुल खर्च नगरीकन समय अनुकुल परिमार्जन गर्दै अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।