तनहुँ : कोरोना भाईरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा देखिएपछि व्यापक रुपमा फैलन नदिनलाई जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरियो । समुदायमा कोरोना देखिएपछि त्रासका कारण तरकारी, फलफूल र दूग्धजन्य पदार्थको बिक्री वितरण गर्ने पसल पनि त्यतिसारो खुलेनन् । निषेधाज्ञाले उपभोक्तालाई धरमै थुनिदियो, तरकारी किन्नलाई समेत बजार पुग्न उपभोक्ता त्रसित भए ।
असहज परिस्थितिमा पनि उपभोक्ताको घरघरै हरियो तरकारी र दूध पु¥याउँदै आएको छ शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा चार जना युवा मिलेर सञ्चालनमा ल्याएको प्रतिशोना एग्रो फार्मले । बिहान बेलुका गरेर ५० लिटर दूध फार्मले दैनिक बजारमा लैजान्छ । साग, काक्रो, घिरौला, करेला, चिप्ले भिन्डी, हरियो खुर्सानी र बोडी लगायतका हरियो तरकारी भने टिप्ने बेला भएपछि मात्र अर्डर लिएर उपभोक्ताको घरघरै पु¥याइन्छ ।
‘तरकारी टिप्ने बेला भएपछि नियमित ग्राहकलाई यहीँबाट फोन गरेर अर्डर टिप्छौँ । अर्डर अनुसारको पोका बनाएर सबैको घरघरै पु¥याइदिन्छौँ,’ व्यवस्थापक समेत रहनुभएका फार्मका सञ्चालक युवराज सुवेदीले भन्नुभयो । यस्तो सुविधा लकडाउन र निषेधाज्ञाको बेला मात्रै नभएर अरु बेलामा पनि दिने गरेको उहाँले बताउनुभयो । जसले गर्दा उत्पादक र उपभोक्ता दुवै फाइदामा छन् । उपभोक्ताले सस्तो मूल्यमा खरिद गर्न पाउँछन् भने उत्पादकले पनि बिचौलिया हावी नहुँदा राम्रो मूल्य पाएका छन् ।
कोत्रे, दुलेगौडा, बेलचौतारा र कास्कीको मजुवासम्म घरघरै पु¥याउने गरेको सुवेदीले जानकारी दिनुभयो । तरकारीको पोकासँगै बिल पठाउने र सहज अवस्था भएपछि भुक्तानी लिने उहाँले जानकारी दिनुभयो । ‘कोरोनाको डर भएकाले क्यास तत्कालै लिएका छैनौँ,’ उहाँले भन्नुभयो, ‘कतिपयले डिजिटल माध्यमबाट भुक्तानी गरिदिनुहुन्छ ।’ ताजा पाउने हुँदा उपभोक्ता पनि आफूहरुको फार्मको उत्पादन खरिद गर्न आर्कषित हुने सुवेदीको दावी छ । वरपरका ग्राहक भने फर्ममा पुगेर आफैँले टिपेर तरकारी खरिद गर्छन् ।
कोरोना कहरले सबै क्षेत्र र सेवा धरासायी बनेको छ । धेरै परिमाणमा उत्पादन गर्ने किसानकै पनि हालत खराब छ । कृषि उत्पादन नबिकेर कुहाएर फ्याँक्नुपर्ने अवस्था नआएको होइन तर, आफैले बजारसम्म पु¥याउने किसानको उत्पादनले राम्रै बजार पाइरहेको अर्का सञ्चालक तीर्थराज खनाल बताउनुहुन्छ । ‘कोरोनाको डरले कृषिको पनि बजार घटेको हो । बाहिरको उत्पादन कम आउँदा स्थानीय उत्पादनले भने राम्रो बजार पाएको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो उत्पादन आफैले बजारसम्म पु¥याउँछौ, त्यसैले बजार राम्रै छ ।’ दूध र तरकारी विक्रीबाट मासिक एक लाख आम्दानी भइरहेको खनालले जानकारी दिनुभयो ।
चार जना युवाले यहाँको हंशवाहिनी माध्यमिक विद्यालय एक्लेखेतको ५० रोपनी जग्गा १० वर्षका लागि वार्षिक दुई लाख १० हजार भाडा तिर्ने सम्झौतामा भाडामा लिएर डेढ वर्षदेखि भैसीपालन र तरकारी खेती गर्दै आईरहेका छन् । ३३ लाख ६० हजारको लगानीमा शुरु गरिएको फर्मको लगानी करोडको हाराहारीमा पुगेको सञ्चालक ठाकुरप्रसाद खनालले बताउनुभयो । गण्डकी प्रदेश सरकारले गत वर्ष ६ लाख अनुदान दिएको थियो । फर्ममा हाल ६ वटा दुहुनो भैंसी छ । २० रोपनीमा तरकारी लगाईएको छ । केही दुहुनो गाई थप्ने तयारी छ । प्रतिशोना एग्रोफार्मबाट चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नेपालमा पढेलेखेका युवा कृषि कर्ममा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो उहाँले । ‘पढेका युवाले आधुनिक पद्धतिले थोरै मिहीनेतमा धेरै उत्पादन लिन सक्छन्,’ उहाँ भन्नुहुन्छ, ‘पुरानै तरिकाले कृषिमा लागेर आत्मनिर्भर भइँदैन ।’ उहाँले कोरोना कहरका कारण धेरै वेदैशिक रोजगारीबाट फर्किएका र देशमै रोजगारी गुमाएका युवा अब कृषिमा लाग्ने सुनाउनुभयो ।
तीनै तहका सरकारले किसानद्वारा उत्पादित वस्तुको बजार ग्यारेण्टी गर्नुपर्ने अनिल खनालले बताउनुभयो । उहाँले सरकारले दिने अनुदान किसानको आवश्यकताको आधारमा दिनुपर्ने उल्लेख गर्नुभयो । अनुदानभन्दा सहुलियतदरमा ऋण उपलब्ध गराए कृषि कर्ममा लाग्न उत्प्रेरणा मिल्ने उहाँ बताउनुहन्छ । उहाँ थप्नुहुन्छ, ‘सहुलियतदरमा पाउने ऋण लिन निकै झन्झटिलो छ । पहुँच नभएका किसानले यो ऋण पाइँदैन ।’