काठमाडौ : सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ पर्व मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ । दशैँमा मान्यजनबाट टीका थाप्ने चलन रहेको र ज्येष्ठ नागरिकबाट टीका थाप्दा उहाँहरुलाई कोरोना सार्ने जोखिम हुने भन्दै यो वर्ष ख्याल गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सङ्क्रमण भएका ठाउँबाट गाउँघरमा जाँदा कोरोना भाइरस पनि सँगै लगिने खतरा रहेकोले यो वर्ष टीका थाप्नकै लागि सकेसम्म यात्रा नगर्न आग्रह गर्नुभयो ।
प्रवक्ता गौतमले दशैँ पर्व अर्को वर्ष पनि आउने भन्दै हामीले हाम्रा हजुरबुबा, हजुरआमा तथा बुबा–आमालाई कोरोना लगिदियौँ भने यसले उहाँहरुको ज्यानसमेत जान सक्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरु कोरोना सङ्क्रमण तथा सङ्क्रमण भएपछि जटिल अवस्थामा पुग्ने खतरा धेरै रहेकोले सकेसम्म उहाँहरुको छेउमा नजान आग्रह गर्नुभयो ।
ज्येष्ठ नागरिकको हेरचाह गर्ने व्यक्ति पनि सधैँ सचेत रहन भन्दै उहाँले दशैँका टीका थाप्ने प्रयोजनका लागि मात्र यात्रा नगर्न र घरबाहिर गइरहने व्यक्तिले ६० वर्षमाथिका ज्येष्ठ नागरिकबाट टीका नथाप्न पनि आग्रह गर्नुभयो ।