युवा, कृषि र उद्यमशीलता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    युवा, कृषि र उद्यमशीलता

    सुन्दर अधिकारी

    १६ आश्विन २०७७, शनिबार

    पछिल्लो समय कोरोना महामारीसँगै देश थप सङ्कटतिर धकेलिदै छ । बेरोजगारी समस्या दिनप्रतिदिन बढिरहेको छ । अधिकांश जनता भोकमरीको सिकार बनिरहेका छन् । सुदुरपश्चिमका हजारौ युवा गरिबीकै कारण कोरोना महामारीका बीचमा पनि भारत जान बाध्य बनेका छन् । शहरदेखि गाउँसम्म उत्पादन कम भई भारत तथा अन्य देशबाट आएको खाद्यान्न तथा तरकारी सेवन भइरहेको छ । एकातर्फ दिनहुुँ करोडौंको खाद्यान्न आयात भएको छ भने अर्कोतर्फ नेपालभित्र समेत उल्लेखनीय उत्पादन हुन सकिरहेको छैन ।

    पुस्तौदेखि भनिआएका छौ नेपाल एक कृषिप्रधान मुलुक हो । हिमाल, पहाड र तराइमा सोही स्थानको भूगोल अनुसारको खेती हुँदै आएको छ । अधिकांश खेतीयोग्य जमिनमा गुजाराको रुपमा उत्पादन भइरहेको छ । नेपालभित्र नेपालकै माग धान्ने गरी उत्पादन हुन सकेको छैन । कोरोना महामारी बढेसँगै नेपालभित्र नै आत्मनिर्भर हुनेगरी कृषि उत्पादन गर्न निकै अपरिहार्य बनेको छ । पछिल्लो समय वैदेशिक रोजगारमा गएका युवाहरु तथा आफ्नै ठाउमा बसेर कृषि कर्म गरिराखेका युवाहरुलाई विशेष महत्व दिई कृषिमा प्रेरित गराई मुलुकभित्र नै कृषि उत्पादन बढाउनु पर्ने देखिन्छ ।

    खासगरी खाद्यान्न तथा नगदे बालीको उत्पादन र पशुपालन नेपालमा भइरहेका कृषि प्रणाली हुन् । अरुको कम निर्भर परी आफ्नै उत्पादन सेवन गरि स्वस्थ जीवन जीउन पाउनु कृषि कर्म गरि खाने जनमानसहरु बताउँछन् । परापूर्वकालदेखि चलिआएको कृषि प्रणालीलाई केही मात्रामा व्यावसायिक तथा प्रविधिपूर्ण बनाई आजका युवाहरु कृषि कर्ममा लाग्न जरुरी देखिएको छ । कसरी हुन्छ जागिर खाने या विदेश जाने भन्दा पनि कसरी हुन्छ कृषि व्यवसाय गर्ने भन्ने तर्फ अबको युवाको सोच हुनुपर्छ । स्थानीय स्तरकै स्रोत र साधनको प्रयोग गरि सोही ठाउँमा उत्पादन बढाई स साना उद्योगहरु सञ्चालन गर्न आजका युवाहरुले सक्नेछन् । जसबाट प्रशस्त आम्दानी तथा रोजगारीको उपलब्धता मिल्नेछ । विगत केही वर्षदेखि केही शिक्षित युवाहरुले पशुपालन तथा तरकारीखेती व्यवसाय गर्दै आएको कुरा हामीले सुन्दै र देख्दै आएका छौ । ती युवाहरुबाट उनीहरुको अनुभव लिँदै अरु युवाहरू अगाडि बढ्न सकेमा मात्र हामी कृषिमा आत्मनिर्भरको बाटोमा अघि बढ्न सक्छौ ।

    नेपाल सङ्घीयतामा गएसँगै तीन तहका सरकारले कृषिलाई निकै महत्वका साथ हेरिरहेका छन् । कृषि व्यवसायमा प्रशस्त सहयोग तथा अनुदानको व्यवस्था ती सरकारहरुले गरिरहेका छन् । जमिन नभएकाहरुलाई भूमि बैङ्क स्थापना गरि जग्गा दिने व्यवस्था सरकारले गरिरहेको छ । प्रत्येक स्थानीय तहले कृषि तथा पशु शाखा मार्फत् किसानहरुलाई हर समय आवश्यक सुझाव दिने तथा तालिम दिने कार्य गरिराखेका छन् । नेपाल सरकारको मातहतमा रहेको नेपाल कृषि अनुसन्धान परिषद्ले कृषकहरुको लागि विभिन्न खालका कार्यक्रमहरु ल्याइरहेको छ । नार्कले कृषकहरुको लागि निशुल्क एसएमएसको व्यवस्था गरि बीउबिजन, मौसम तथा खाद्य भण्डारणको बारेमा ज्ञान दिने गरेको छ । जसबाट सबै कृषकहरुले उपयुक्त सूचना प्राप्त गर्न सक्नेछन् । यो अवस्थामा युवाहरुले आफूलाई कृषि उत्पादनमा लाग्न जरुरी देखिइसकेको छ । युवाहरु कृषि व्यवसायमा सामेल हुने र सरकारले उत्पादित पदार्थको उचित व्यवस्था मात्र गरिदिने हो भने नेपालले कृषिमा महत्वपूर्ण सफलता हात पार्न सक्छ । आफैले उत्पादन गरेको वस्तुको औद्योगिक प्रयोग गर्न सकेमा युवाहरुले उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छन् । सरकारले आफ्नो प्रक्रिया सहज बनाउँदै जाने र युवाहरु बिना हिचकिचाहट कृषि कर्ममा लागे समृद्धि सम्भव छ हाम्रै पालामा ।