तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेक घर भई हाल हङकङमा रहनुभएकी पवित्रा सारु मगरले आफ्नो जन्मगाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । सोही वडाको काफलडाँडास्थित शिवसुन्दर प्राथमिक विद्यालयमा अध्ययनरत २६ विद्यार्थीलाई सारु मगरले शैक्षिक सामग्री, विद्यालय पोशाक र झोला प्रदान गर्नुभएको हो ।
आर्थिक रुपमा विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य सहित उक्त विद्यालयमा तेस्रो पटक सहयोग गरेको सारु मगरले जानकारी दिनुभयो । उहाँले यस अगाडी पनि दुई पटक सोही विद्यालयका विद्यार्थीलाई सहयोग गरिसक्नुभएको छ ।
सहवीरमा रु ५० हजार थप गर्ने तयारी
पवित्राकै पहलमा सहवीर निम्न माध्यमिक विद्यालयमा रु ५० हजार सहयोग गर्ने तयारी भइरहेको छ । यस अगाडी सोही विद्यालयमा रु चार लाखको अक्षयकोष स्थापना गरिएको थियो । अक्षयकोषको व्याजबाट प्राप्त रकमले विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहयोग पुगिरहेको छ ।
आर्थिक स्थिति कमजोर भएका र अनाथ बालबालिका अध्ययन गर्ने विद्यालयमा स्थापना गरिएको अक्षयकोषले उनीहरुको पढाईको लागि ठूलो सहयोग पुगेको पवित्राले बताउनुभयो । “अक्षयकोषको व्याजबाट प्राप्त रकमले विपन्न विद्यार्थीलाई राहत मिलेको छ,” उहाँले भन्नुभयो, “अक्षयकोषमा थप रु ५० हजार सहयोग गर्दैछौ ।”
उहाँका अनुसार हङकङमा रहेका नेपालीहरुबाट रकम सङ्कलन गरिएको छ । हङकङमा रहनुभएका जगतप्रसाद थापाको पहलमा जेलिङ कम्पनीमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग सङ्कलन भएको छ । उक्त रकम छिट्टै विद्यालयलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।