तनहुँ : सुरक्षित नागरिक आवास कार्यक्रमका लागि व्यास नगरपालिकाले लाभग्राही छनौट गर्ने भएको छ । व्यास नगरपालिकाका विभिन्न वडामा खरको छानो विस्थापित गर्नका लागि रकम प्राप्त हुने भएकाले नगरपालिकाले लाभग्राही छनौट गर्न लागेको हो ।
बुधबार बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका ५ र ६ को ९५, व्यास नगरपालिका–१ देखि ४ र ७ देखि १४ सम्मका वडाका २ सय १९ कच्ची घरहरुमा छाना छाउनका लागि प्रति घर रु ५० हजारका दरले रकम प्राप्त हुने भएकाले लाभग्राही छनौटका लागि दश दिने सूचना प्रकाशित गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले व्यास नगरपालिका नगर प्रहरी नियमावली र सवारी साधन तथा यातायात व्यवस्थापन कार्यविधि पारित गरेको छ । नगरप्रवक्ता श्रेष्ठका अनुसार व्यास नगरपालिकामा कार्यरत सम्पूर्ण स्थायी, करार कर्मचारीको कोरोना बीमा गर्ने निर्णय भएको छ । नगरक्षेत्रभित्र काठेपोल विस्थापन गर्ने सम्बन्धी गण्डकी प्रदेश सरकारबाट गत वर्ष प्राप्त पोलहरु गाड्ने विषयमा समिक्षा गरी विद्युत प्राधिकरण र शिशाघाट बजार व्यवस्थापन सामुदायिक संस्थासँग समन्वय गरी बाँकी पोलहरु गाड्ने र अब पाउने पोलहरु ९ मिटरको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।