सांसद कोइरालाको दशै अनुभव “दक्षिणामा पाएको नयाँ नोट र सिक्का गन्दा छुट्टै मज्जा हुन्थ्यो” (अडियो सहित )
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद कोइरालाको दशै अनुभव “दक्षिणामा पाएको नयाँ नोट र सिक्का गन्दा छुट्टै मज्जा हुन्थ्यो” (अडियो सहित )

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७७, सोमबार

    मानिसको जीवनमा बाल्यकालको याद सदैव स्मरण हुँदो रहेछ । हुन त पहिलो प्रभाव नै अन्तिम प्रभाव भन्ने भनाई छ । म गोरखामा जन्मिएको मान्छे, मलाई दशैं भन्ने बित्तिकै गोरखा दरबारको फूलपाती बढाइँ गरिने सप्तमीको दिनलाई राम्रोसँग सम्झन्छु । र त्यो नै दशैं हो जस्तो लाग्दछ ।

    साथीसंगी संगै भएर गाउँभरी मान्यजनबाट टिका लगाएर दक्षिणमा पाएका नयाँ नोट र सिक्का गनेको याद आउँछ । साथीसँग मिलेर कसको कति पैसा भयो भनेर गन्थ्यौ । त्यतिबेला छुट्टै मज्जा हुन्थ्यो ।

    अहिले वर्तमान अवस्थामा दशैं मनाउँदा हाम्रा सबै साथीसङ्गी, इष्टमित्र, परिवारका सदस्यहरुसँग भेटघाट गर्ने एउटा रमाइलो पर्वको रुपमा बिकसित भएको छ । राज्यले पनि हाम्रो परम्परा, संस्कृतिको आधारमा अलिकति बढी बिदा पनि दिने, महत्व पनि दिने गरेको छ यो पर्वलाई । त्यसैले भेटघाटको उपयुक्त माध्यमको रुपमा मैले यसलाई लिएको छु । परम्परागत रुपमा हामीले आफ्नो ढङ्गले, रचनात्मक ढङ्गले चाडपर्व मनाउने हो भने वर्षमा एकपटक आफन्तहरुसँग भेटघाट असाध्यै राम्रो महत्वपूर्ण अवसर पाएको मलाई अनुभूति हुन्छ ।

    दशैंको बेला मलाई राम्रो सन्दर्भ के लाग्छ भने हाम्रो समाज पितृसतात्मक समाज, हिजोदेखि महिलाहरुलाई मिनिमाइज गरिरहेको, दोस्रो दर्जाको नागरिक भनिरहेको यो समाजमा देवीको पूजा गरेर, एउटा शक्तिशाली दुर्गादेवीको पूजा गरेर, नवरात्रीभरि नवदुर्गाको पूजा गर्ने जुन प्रचलन छ त्यो प्रचलनबाट के पुष्टि हुन्छ भने देवी शक्तिशाली हो अथवा महिलाहरु नारी जाति असाध्यै शक्तिशाली छन् । हरेक समस्यामा, हरेक विपत्तिमा अथवा कसैले एकदमै ठूलो आक्रमण गर्दाखेरि नारी जातिहरुले एउटा हिम्मत गरेर उसको विनाश गर्न सक्छन् अथवा कठिन परिस्थितिमा शत्रुलाई परास्त गर्न सक्छन् भन्ने सन्देश यो पर्वले दिएको छ । त्यसकारण मलाई यो पर्व हेर्दा नवदुर्गाको सबै जनाले पूजा गर्दा हरेक ठाउँमा उनको प्रार्थना गर्दै गर्दा महिला हुनुमा गर्व पनि लाग्छ ।

    यतिबेला हामीले दशैंका महत्वपूर्ण दिनहरु परिवारमा सीमित गर्ने, आफ्नो परिवारभित्र बसेर मनाउने, टाढा रहेका आफन्तजन, साथीभाई नजिकै भएर पनि परिवारभन्दा बाहिर रहेका मान्यजनहरुसँग विभिन्न प्रविधिको माध्यबाट शुभकामना आदानप्रदान गरेर मनाउनुपर्छ भन्ने लाग्छ ।

    म आम दिदीबहिनी र दाजुभाईहरुलाई पनि यो पर्वमा के भन्न मन लागेको छ भने नारी शक्ति भनेको असाध्यै महत्वपूर्ण शक्ति हो । हामीले अवसर नपाएको कारणले नारीहरुले महत्वपूर्ण कामहरु गर्न, नेतृत्व लिन नसकेको हो । लिएको ठाउँमा राम्रोसँग काम गर्न सक्छन्, हरेक परिस्थितिको सामना गरेर ठूला ठूला चुनौतिको सामना गरेर त्यसबाट विजय प्राप्त गर्न सक्छन् भन्ने कुरा मलाई विश्वास लाग्छ र यो पर्वले त्यही सन्देश दिन्छ ।

    यसपटक हामीलाई कोरोनाको असाध्यै ठूलो प्रकोप छ । पहिला पहिला हामीले विदेशबाट आएका, वैदेशिक रोजगारीबाट फर्किनुभएकाहरुलाई मात्र कोरोना हुन्छ भन्ने मान्यता थियो । अहिले त्यो सङ्क्रमण धेरैजसो समुदायमा फैलिन थालेको छ । धेरै जना यसबाट प्रभावित भइरहनुभएको छ । यतिबेला हामीले दशैंका महत्वपूर्ण दिनहरु परिवारमा सीमित गर्ने, आफ्नो परिवारभित्र बसेर मनाउने, टाढा रहेका आफन्तजन, साथीभाई नजिकै भएर पनि परिवारभन्दा बाहिर रहेका मान्यजनहरुसँग विभिन्न प्रविधिको माध्यबाट शुभकामना आदानप्रदान गरेर मनाउनुपर्छ भन्ने लाग्छ । यसरी नै दशैँ मनाउनका लागि म आम दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु ।

    खबरपुञ्जसंगको कुराकानीमा गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाको सुनाएको दशैँ अनुभवको सम्पादित अंश ।