कोरोना संक्रमणबाट चितवनमा थप २ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    कोरोना संक्रमणबाट चितवनमा थप २ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७७, सोमबार

    चितवन : कोरोना भाइरसको संक्रमणबाट चितवनमा थप २ जनाको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको हो ।

    चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार भरतपुर महानगरपालिका–१० की ६७ वर्षीया संक्रमित महिलाको सोमबार दिउँसो पौने २ बजे उपचारका क्रममा मृत्यु भएको छ । उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् ।

    मिर्गौलाको रोगीसमेत रहेकी उनी श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर अस्पताल आएकी थिइन् । कात्तिक ६ गते उनमा संक्रमण पुष्टि भएको थियो । अवस्था जटिल हुँदै गएपछि उनलाई अस्पतालले आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरेको थियो ।

    यस्तै, आइतबार मध्यराति भरतपुर महानगरपालिकाका–१ का ७७ वर्षका पुरुषको मृत्यु भएको अस्प्तालले जनाएको छ । कात्तिक २ गते संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । समस्या बढ्दै गएपछि कात्तिक ८ गते अस्पताल आएका थिए । उनको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।

    आइतबार मध्यराति र सोमबार दिउँसो गरी थप २ जनाको मृत्यु भएसँगै चितवनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा सोमबार दिउँसोसम्म कुल संक्रमितको संख्या ३ हजार ९ सय ४७ पुगेको छ । तीमध्ये २ हजार १ सय ४४ मात्र संक्रमण मुक्त भएका छन् । अझै १ हजार ७ सय ५२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये १ हजार ३ सय ४५ जना होम आइसोलेसनमा छन् ।