दाउरामा दोब्बर मूल्य लिएको पाइए कारवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    दाउरामा दोब्बर मूल्य लिएको पाइए कारवाही

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७७, सोमबार

    तनहुँ : देवघाट क्षेत्र विकास समितिले केही विचौलियाहरुले दाउरामा दोब्बर रकम लिई सेवाग्राहीलाई ठगेको बुझिन आएकाले त्यस्तो नगर्न सचेत गराएको छ । तोकिएको रकम भन्दा बढी रकम लिन खोजे वा मागेमा समितिलाई जानकारी गराइदिन क्षेत्र विकास समितिले आग्रह गरेको छ ।

    समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले दाउरामा दोब्बर रकम लिई सेवाग्राहीलाई ठग्ने काम गरेको भन्ने कुरा सुन्न र बुझ्नमा आएका समितिको ध्यानाकर्षण भएको बताउनुभयो ।

    कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको अन्तिम कर्म परिवारकै सदस्यहरुले चाहेमा गर्न सक्ने सरकारको नीति सार्वजनिक भएसँगै देवघाट क्षेत्र विकास समितिको भौगोलिक कार्य क्षेत्रभित्र पर्ने बागीश्वरी क्षेत्रको केही तल दियालो बङ्गलाबाट निर्मित नारायणी नदी किनारमा दाहसंस्कार स्थल तोकिएको छ । शव दहनका लागि दाउरा अभाव भएमा देवघाट क्षेत्र विकास समिति दाहसंस्कार व्यवस्थापन उपसमितिको कार्यस्थलबाट रु तीन हजार पाँच सय भुक्तान गरी लैजान सकिने व्यवस्था गरिएको छ । “तर दाउरामा बिचौलिया हावी भएको सुन्नमा आएकाले त्यस्तो नगर्न सचेत गराएका हौ,” घिमिरेले भन्नुभयो ।

    उहाँका अनुसार कोरोना सङ्क्रमित शव अन्त्येष्टि स्थलमा कतिपय मानिसले अस्थायी पसल समेत राख्ने गरेको सुन्नमा आएकाले त्यस्ता काम नगर्न नगराउन सुचित गरिएको छ ।