लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लकडाउनको सिर्जना ‘निरुत्तर’ विमोचन

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७७, शनिबार

    तनहुँ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सङ्क्रमण फैलिने डरले ११ चैतदेखि मुलुकमा लकडाउन भयो । लकडाउनको बेला कोरोनाको डरले सबैलाई घरमै थुन्यो ।

    व्यस्त दैनिकीबाट फुर्सदिलो बनेका यहाँका एक जना शिक्षकले लकडाउनलाई अवसर ठाने र, साहित्यमा कलम चलाउनुभयो । लकडाउनको सदुपयोग गर्दै दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयका नेपाली विषयका शिक्षक एकनारायण भण्डारीले लेख्नुभएको पहिलो उपन्यास ‘निरुत्तर’ को विमोचन गरिएको छ ।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको सन्दर्भ पारेर शनिबार शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले उपन्यासको विमोचन गर्नुभयो । आचार्यले साहित्य सिर्जनाले समाजको चित्रण गर्दै विकृति विसङ्गति न्यूनिकरणमा भुमिका खेल्नुपर्ने बताउनुभयो ।
    “निरुत्तर उत्तरसिहतको सामाजको यथार्र्थ हो,” उहाँले भन्नुभयो, “वर्तमान समाजलाई परिर्वतन गर्न यो कृतिले अवश्य सघाउँछ ।” लकडाउनले धेरै क्षेत्रलाई नराम्ररी थला पारेपनि साहित्यको फाँटमा भने नयाँ–नयाँ प्रतिभाको जन्म भएको उहाँको भनाई छ ।

    वाराही साहित्य प्रतिष्ठानको आयोजनामा विमोचन गरिएको उपन्यासमाथि समिक्षा गर्दै आख्यानकार दिपक समिरले उपन्यास पढेपछि गलत बाटोमा लागेकाहरुलाई सचेत गराउने बताउनुभयो । तर, सम्पादनको हतारोले गर्दा उपन्यासमा केही त्रुटि भेटिएको बताउँदै लेखनमा हतारो गरेपनि सम्पादनको बेला कहिल्यै हतारिन नहुने उहाँको सुझाव छ । पूर्वीय सभ्यतालाई उपन्यासले समेट्नु सकरात्मक पक्ष रहेको उहाँको भनाई छ ।

    २०४८ सालदेखि शिक्षण पेशामा आबद्ध भण्डारीका फुटकर सिर्जना विभिन्न पुस्तकमा प्रकाशित हुँदै आएका थिए । पहिलो उपन्यास विमोचन भएपछि निरुत्तर–२, ढुंगा मान्छेहरु (कविता संग्रह) र मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

    पछिल्लो समय राजधानी बाहिर मोफसलमा पनि साहित्यिक जमघट र कृति प्रकाशनको क्रम बढेको छ । अझ स्थानीय सरकारले पनि साहित्यलाई प्राथमिकता दिन थालेपछि स्थानीय तहमै पनि साहित्यिक कार्यक्रम हुँदैै आईरहेका छन् ।