काठमाडौ : अब विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर कायम भएको छ । मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । उचाइ पहिलेको भन्दा ०.८६ मिटर बढेको हो । यसअघि सगरमाथाको उचाइ ८,८४८ मिटर थियो । मंगलबार भएको भर्चुअल घोषणा कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथा(चोमोलोङमा) को नयाँ उचाइ घोषणा गर्नुभएको हो ।
नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।
विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो।