एजेन्सी : लालिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा साविक उपविजेता बार्सिलोनाले जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई २-१ ले हराएको हो ।
बार्सिलोनाको जीतमा जोर्डी अल्बा र फ्रेन्की डे जोङले १-१ गोल गरेका थिए । सोसिडाडका विलियन जोसेले एक गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने सोसिडाडले लिएको थियो । २७औं मिनेटमा जोसेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटमै जोर्डी अल्बाले बराबरी गोल फर्काए ।
पहिलो हाफ सकिनुभन्दा दुई मिनेट अगाडि डेजोङले खेलमा बार्सिलोनालाई अग्रता दिलाए । दोस्रो हाफमा थप गोल भएनन् र खेल बार्सिलोनाले जित्यो ।
जीतसँगै १२ खेलबाट २० अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने पराजित भएपछि गोलअन्तरमा पछि पर्दै सोसिडाड दोस्रोमा झरेको छ । सोसिडाड, एट्लेटिको मड्रिड र रियल मड्रिडको समान २६ अंक रहेको छ ।