काठमाडौ: काठमाडौंको शनिबार बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । काठमाडौंको शनिबार बिहानको तापक्रम १ दशमलव ३ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको हो । यसअघि पुस ३ गते काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
शुक्रबार बिहान २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम शनिबार बिहान १ डिग्रीले घटेको हो । काठमाडौंको शनिबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
मौसमविद् शाक्यका अनुसार शनिबार दिउँसो प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुँदै बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ ।
शनिबारकोभन्दा आइतबार मौसम बदली हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली हुँदै बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पश्चिमी वायुको प्रभावले बदली हुन लागेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुकै प्रभावले अहिले तराईका थोरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भु–भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।