निषेधाज्ञामा पनि तनहुँ जलविद्युत आयोजनाको काम धमाधम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    निषेधाज्ञामा पनि तनहुँ जलविद्युत आयोजनाको काम धमाधम

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७८, बिहीबार

    तनहुँ : कोरोना सङ्क्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले गत वैशाख २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द छ ।

    निषेधाज्ञाका बीचमा पनि एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम भने धमाधम भइरहेको छ । स्वास्थ्य मापदण्ड अपनाएर आयोजनाको कामलाई गति दिइएको आयोजनाले जनाएको छ । गत वर्षको निषेधाज्ञामा पनि आयोजनाको काम रोकिएको थिएन ।

    आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । प्याकेज १, प्याकेज २ र प्याकेज ३ का कामहरु धमाधम सञ्चालन भइरहेको घिमिरेले बताउनुभयो । “निषेधाज्ञामा काम रोकिएको छैन, सबै सुरक्षा अपनाएर कामलाई गति दिएका छौ,” उहाँले भन्नुभयो ।

    केही समयअगाडी मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गर्न तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।

    घिमिरेका अनुसार भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरु फिल्डमा खटिएका छन् । दुवै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताउनुभयो । आयोजनाले ती कम्पनीसँग पहिलो प्याकेजका लागि रु १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    आयोजनाको प्याकेज १ (हेडवक्र्स) निर्माण कार्यका लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग विसं २०७५ असोज १५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात् कम्पनीले विसं २०७६ वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकाले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैङ्कको खरिद निर्देशिका अनुरुप विसं २०७६ फागुन १६ गते दोस्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

    प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी तीन सय ७० परिचालित छन् । प्याकेज २ को कामका लागि दुई सय ५० श्रमिक क्याम्पभित्रै छन् । कोरोना जोखिम भएका कारण वरपरका केही सीमित श्रमिकमात्रै काममा परिचालन गरिएको छ ।

    “बाहिरका श्रमिकलाई पनि भित्रै राखेर काम गराउने गरी तयारी गरिएको छ, आवतजावत हुँदा जोखिम हुने भएकाले सबैलाई भित्रै राखेर कामलाई गति दिन्छौ,” घिमिरेले भन्नुभयो । यो प्याकेजका लागि ४५ जना चिनियाँ पनि परिचालित छन् । प्याकेज २ अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ ।

    प्याकेज ३ अन्तर्गतको प्रशारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रशारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । २३ वटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र दश ठाउँमा काम शुरु भइरहेको छ ।