राजनीतिमा चाहिएको गाउँमुखी प्रवृत्ति हो , जनतामुखी संस्कृति हो । राजनीतिक आन्दाेलन र व्यवस्था परिवर्तन यो वा त्यो पार्टीका नेता नामका चतुरेहरुको एउटा बर्ग र तहलाई पालैपालो वा निरन्तर सत्ता – शक्ति प्राप्ति , उपभोग , प्रयोगको अवसर दिलाउनका लागि भएको होइन यो त राज्यमा समयानुकूल उन्नति ल्याउन र जनता प्रतिको जिम्मेवारी , उत्तरदायित्व , अभिभावकत्व निर्वाह गर्नका लागि हो । गाउँको पीडा बुझ्ने , बिस्तारित हातले गाउँलेको अाँसु पुछ्ने नेता र पार्टी व्यवस्था खोजेका छन् जनताले । तर जिल्ला वा केन्द्रमा बस्ने , चुनाव र अधिवेशनमा मात्र गाउँ पस्ने , अाकास पाताल कुरा काट्ने , नेता जनता दुबै ढाँट्ने , सिन्डिकेट खडा गरेर स्रोत , साधन , अवसर जनताबाट खोस्ने , आफन्तलाई पोस्ने बिचौलियाको कब्जामा छ राजनीति ।
गम्भीर हुनुपर्छ , बास्तबिकता बुझ्नुपर्छ जिम्मेवार र महत्त्वपूर्ण जिम्मेवारी लिएका नेतृत्व वर्गले। नेताले आफ्नाे जीउ ज्यान सँधै एकै ठाउँमा राख्न मिल्दैन, सबै तिर डुल्नुपर्याे पुग्नुपर्याे पनि । तर आँखा, मन , कान र ध्यान गाउँ गाउँमा छाड्नु पर्छ , हरेक समस्या, पीडा र आवश्यकतामा जनता माझ पुग्नुपर्छ । नेताले जनताको समस्या , आवश्यकता र अपेक्षाको हमेशा ख्याल राख्नुपर्छ । नेतालाई जनताका माझमा पुर्याउने र निरन्तर सम्पर्कमा राखि राख्ने काम असली कार्यकर्ताले गर्नुपर्छ । असली कार्यकर्ता भनेको जिल्ला र गाउँको नेतृत्व हो ।तिनले जनताको साथ , नेताको सम्पर्कमा रहिरहनु पर्छ। तिनीहरुको मुख्य काम कर्तव्य नै जनता र नेता बीच पुलको काम गर्नु हो , पर्खालको होइन । धेरैले पर्खाल र दलालको भुमिका निभाउँदा, नेताले तिनकै मात्र बिस्वास गर्दा – भर पर्दा नै राजनीतिले पिरेको हो , जनताको नजरमा गिरेको हो ।
जिल्ला र गाउँमा पर्खाल प्रवृत्तिका कार्यकर्ता हावी भएका कारण, जनताले पाउनुपर्ने सुचना र सुविधा बीचमा बसेर तिनैले दोहन र शोषण गरेका कारणले पनि नेता र जनता बीच खाडल खडा भएको छ । जनतामा देशका ठूला केन्द्रीय स्तरका नेता र समग्र राजनीति , राज्य र पार्टी संयन्त्र , पद्धति प्रति आक्राेश, अविश्वास र निराशा बढेको छ । राजनीतिक संगठन र नेतृत्वको यता तर्फ पनि ध्यान पुगोस् । जिल्ला र गाउँ तहका ऐँजेरु, पर्खाल , सामन्ती दलाल प्रवृत्तिका नेता , कार्यकर्ता पहिचान गरि यथा समयमा तिनलाई पन्छाएर तिनका ठाउँमा लोकप्रिय साथै योग्य, इमानदार , समझदारहरुलाइ क्षमता अनुसारको जिम्मेवारी दिने परिपाटी बसाउन, राज्य र पार्टीका संगठन संरचनामा त्यस्तालाई खटाउने तिर प्राथमिकता दिन जरुरी देखिन्छ । योग्यता , क्षमता को मुल्यांकन नगरी व्यक्तिगत निष्ठा र वफादारीका अाधारमा जिम्मेवारी बोकाउने परिपाटी बस्नाले संगठनमा अन्योल र निराशा छाएको छ, कार्य सम्पादन र नतिजा शुन्य प्राय भएको छ ।
जिम्मेवारी बितरण र नेतृत्व चयनका बेला स्वार्थ समूह र गुट खडा गरि संगठन र संयन्त्र कब्जा गर्न गरिने अनैतिक , अापराधिक , सिद्धान्तहीन संझौता , गठबन्धन र षड्यन्त्रबाट राज्य र राजनीति जोगाउन पनि उत्तिकै गाम्भीर्य,चातुर्य, सजगता र कुशलता जरुरी छ।
देशको राजनीतिक पार्टी होस् वा सरकारी संयन्त्र , तिनबाट चलेका परिपाटी अथवा शासन , प्रशासनमा उही बिकृतिजन्य समस्या , प्रवृत्ति र संस्कृतिले जरो गाडेको छ। निष्पक्ष र न्यायपुर्ण सामाजिक व्यवस्था अनि समानता र कानुनी सर्वोच्चताको राज्य संयन्त्र , तिनको स्वच्छ स्वतन्त्र कार्य सम्पादन र सेवा प्रवाह आम जनताका लागि सिर्फ मृग तृष्णा मात्रै भएको छ। सरकारमा रहेको निश्चित पार्टी , पार्टीको पनि गुट र तिनका आसेपासेको वरिपरि घुम्ने , तिनलाई मात्र पालनपोषण गर्ने परिपाटीले जरो गाड्दै गएको छ । सिङ्गो देश र जनताका लागि कसले गर्ने ,कसले सोच्ने ? देश भन्दा पार्टी प्यारो, पार्टी भन्दा गुट प्यारो, गुटभन्दा नाता – दाता प्यारो , नाता- दाता भन्दा आफ्नै स्वार्थ अहंकार प्यारो । यस्तो अबस्था र व्यवस्थाले मुलुक असफलताको भड्खालो तिर उन्मुख भएको छ । अब संभावित दुर्घटनाबाट जोगाउन राज्यको निर्णायक तहका राजनीतिक ,प्रशाशनिक , बौद्धिक जमातले गम्भीर हुनैपर्छ । सत्ता – शक्तिको लालसा र अनन्त भोकका सामु देशको सार्वभौमसत्ता , राष्ट्रियता र जनता प्राथमिकतामा पछाडि पर्दै गएको अनुभव सबै क्षेत्रमा भइरहेको छ। क्षुद्र राजनीतिक स्वार्थको रोटी पकाउने कारखाना बन्द गर्नुपर्छ नत्र ” न रहे बाँस न रहे बाँसुरी ” को अवस्था नआउँला भन्न सकिन्न ।