लोक सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    लोक सेवा

    मुक्ति नेपाली

    १२ जेष्ठ २०७८, बिहीबार

    सरकारी जागिर भनेको शिक्षक बाहेक अरु पनि हुन्छ भन्ने कुरा त्यतिखेर थाह पाए जतिखेर मैले लोकसेवाको नाम सुने ।लोकसेवाको नाम बल्ल त्यतिखेर सुने, जतिखेर जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा हाम्रो टीम पञ्चमुनीदेव मा. वि. ले प्रथम पुरस्कार जितेको थियो ।सरकारी विद्यालयको सानो फुच्चे देखेर हो या के हो तत्कालिन प्रमुख जिल्ला अधिकारी मोदराज डोटेलले तिमीले लोकसेवा पास गर्न सक्छौ भनेको सुनेपछि यसमा आकर्षित भएको थिँए।

    उबेला विद्यालय स्तरमा सामान्य ज्ञानको म खतरै जान्ने थिए । मेरो डन हुनुहुन्थ्यो हामीलाई ऐच्छिक गणित पढाउने गुरु गोविन्द सिग्देल।गोविन्द सरको अगाडी मेरो सामान्य ज्ञान आउटडोर रेष्टुरेण्टको राउण्ड टेबलमा गाडिएको छाताको अगाडी भर्खर उम्रिएको च्याउ जस्तै भइदिन्थ्यो । दिमागले ठान्थ्यो गोविन्द सर भन्दा जान्ने कोही छैन ।तर लोकसेवा पास गर्न अझै त्यो भन्दा पनि धेरै जान्ने हुनुपर्छ रे ! सिडियो नि लोकसेवा पास गरेरै आएका हुन् रे ! अब लोकसेवाको नाम मस्तिष्कमा घुम्न थाल्यो ।

    एस.एल.सी.पछि सरकारी जागिर खानुपर्छ भन्ने त पहिले देखि नै थियो। मरञ्च्याँसे जीउ, पाँच फिट नपुगेको उचाई, लाहुरे हुने कुरै आएन । म हुर्केको गाउँमा लाहुरे भएन भने पक्का हलीगोठालो भयो भन्ने जाने हुने। अब लोकसेवाको तयारी कसरी गर्ने त ? नजिकका मान्छे हरु सम्झिए घर वरपर अरुपनि सरकारी जागिरेहरु भए पनि उसबखत गोपाल काका बाहेक अरुको याद मेरो खोपडीमा आएन।सबभन्दा नजिकको छिमेकी र काकी मेरै काकीको साथी पनि।म केरो कान्छा काकाकै गोपाल काका सामान्य ज्ञान मात्र हैन नविनतम सामान्य ज्ञान अन्तराष्ट्रिय मञ्च सर्वज्ञान मञ्च लगायतका पत्रिकाहरु पढ्न सुझाउनुहुन्थ्यो। उहाँले जागिर खानुभएको निकै भइसकेको थियो र पनि खुल्ला अधिकृतमा नाम निकालेको भनेर चर्चित पनि।म भने ढुक्कै थिए यत्तिको जान्ने छु ड्याङ्ग लोकसेवाको जाँच दिन्छु गोपाल काका हुनुहुन्छ, यसो कसैलाई भन्दिनुहुन्छ मेरो नि नाम निकाल्दिनुहुन्छ ।किनभने सरकारी जागिरमा भनसुनले ठूलो अर्थ राख्छ रे ! सुनेको कुरो । मनमनै सरकारी जागिर खाएँ ।

    “लोकसेवा इज नट जोक” पत्रिका बेच्दाबेच्दै जब लोकसेवाको फारम भरे जाँच दिए बल्ल मेरो भुत उत्रियो । यो पाराले लोकसेवामा नाम निकाल्नु त परै जाओस् पास अंक पनि ल्याइन्न ।आफुलाई सामान्य ज्ञानको मसिहा ठान्न पनि छाडिदिएँ ।मेरो कित्ताकाट भैसकेको थियो पत्रिकातिर । लेखन नै मेरो व्यवसाय हुन्छ भन्नेतिर लागे ।

    समाधान पत्रिकामा काम गर्ने सहकर्मी हरु मध्ये एकजना दाई हुनुहुन्थ्यो, राजेन्द्र लामिछाने । उहाँले भेटेरिनरी जेटिए पास गरेर आउनुभएको रहेछ उतिबेला त हामीलाई डाक्टरै लाग्थ्यो । त्यो वर्ष प्राविधिक पदमा धेरै नै विज्ञापन भएको पनि उहाँले बताउनुभयो । हामीले भर्ने फर्मको रंग पहेँलो थियो उहाँले भर्ने सेतो रहेछ ।सेतो फर्म भर्ने प्राविधिक, पहेँलो फर्म प्रशासनिक ।

    फारमको रंगसंगै जीवनको गोरेटो पनि फेरियो । पत्रिका विक्री वितरणसंगै हल्का-फुल्का लेख्न थालेको रेयुकाइ मा लागेको फस्ट इयर पास गरेको ।अब फेरी टिएसएलसी को तयारी हुने । हैट ! म पनि केही हुँ कि क्याहो ! एक खालको अभिमान नस्ट भएर फेरी अर्को पानो पो पल्टियो शुरुबाट भेटेरिनरी जेटीए पढ्न लागियो धौलागिरितिर । भेटेरिनरी जेटिए पास गर्दैमा कहाँ सरकारी जागिर भइन्छ र ? बरु त्यसले सकरात्मक ऊर्जा भने दियो मलाई ।बच्चा देखि मास्टर डिग्री पढ्नेबेलासम्म आफू पूर्ण विद्यार्थी बनेको भनेको बल्ल त्यहिँ एकवर्ष हो ।जागिर खाने अभिलाषा त पहेँलो होस् कि सेतो फर्मले के रोक्छ र ? फेरि भरियो पहेँलो फर्म खरिदारको लागि यसपाली भने २ जना हितैषी साथीहरु पाएको पढ्ने ।पत्रिकाहरु अलि पाईने, संकटकालको बेला ।तिनताक सोपान मासिक भर्खर भर्खर आएको थियो हामी तिनभाई (तारापति भट्टराई, घनश्याम पौडेल र मुक्तिराम पौडेल) पढनदास भै टोपलेका थियौ । खै कसले हो वाग्लुङबाट लोकसेवा दिए सजिलो हुन्छ रे भन्दियो दगुर्यौ फर्म भर्न, नेपाली हौ नि ! जाँच राम्रै दिएको तर धनकुटामा माओवादी आक्रमणमा कापी जलेछ । उसबखतै नाम निस्कन्थ्यो कि क्याहो ! भन्छन् नि उम्केको माछो ठूलो ।त्यहि परिक्षा फेरि खुलेको थियो नेपाल बन्द भयो ।तिनै भाइलाई परिक्षा दिन जान गाह्रो भयो ।

    यसैबिचमा प्राविधिक पनि खुल्यो । परिक्षा दिइयो । मलाई धौलागिरि खुब प्यारो लाग्न थालेको थियो । काठमाडौंबाट २ सिटको लागि भनेर पनि पुगियो लोकसेवा दिनको लागि धौलागिरि नै ।। २०६४ को विज्ञापन २०६५मा लिखित परिक्षा २०६६मा अन्तरवार्ता र नियुक्ति । लोकसेवामा सिफारिस भएपछि लाग्यो आफ्नो मान्छे ह्यान त्यान सब बकवास रहेछन् ।