सर गुड मर्निङ !
बोसको कोठामा पस्ने ढोकाबाट सुस्तरी भित्र छिरे म ।
कम्प्युटरमा के काम गर्दै हुनुहुन्थ्यो कुन्नि ! बोसले टाउको फर्काएर “के छ मुक्ति जी फिल्डमा जाने बेला भएन“ ? भनेर सोध्नुभो ।
भयो सर, ब्याग रेडी छ । मैले भने
कतिवटा प्रिन्टेड छ ? बोसको आवाज ।
७/८ वटा छ, ४ वटा त स्लाइन दिनुपर्ने नै छन् सर । मैले भने ।
भन्नुस् के थियो ? काम नपरी अगाडी नपर्ने भएकाले पनि होला अलि उत्सुकताका साथ सोध्नुभयो ।
मलाई बोस या हाकिम कसैका अगाडी पनि कहिल्यै टाउको कन्याउन आएन ।
सोझै विषयवस्तुमा प्रवेश गरे “सर लोकसेवा खुलेको छ”।
मुक्तिजी, अघिल्लो महिना तपाईले कति तलब बुझ्नु भयो ?
एघार हजार सातसय सर !
तपाईले कुन पदमा दिने हो लोकसेवा ?
नायब प्राविधिक सहायक, खरदार हो, सर ।
उक्त पदको तलब कति छ ?
खै सर त्यस्तै ५५०० जति होला !
अनि तपाईँ कहाँबाट फर्म लगाउनुहुन्छ ?
यहाँ र पोखरामा १-१ सिट मात्र रहेछ, वाग्लुङमा २ सिट रहेछ म वाग्लुङ जान्छु सर, फर्म लगाउन।
तपाईँलाई जागिर खान कति सिट चाहिने हो ?
प्रश्नले म रन्थनिएँ । तर उत्तर त एक सिट भन्ने एकमात्र अन्तिम विकल्प हो ।
ल त्यसो भए यतैबाट फर्म लगाउनुहोस् भ्यालीमा भयो भने राम्रै हुन्छ । तपाईँ पढ्दै पनि हुनुहुन्छ शहर भनेको शहर हो । गाउँ भनेर किसान भनेर क्रान्ति भनेर मात्रै हुदैन तपाईँका नेता त सबै शहरकै भैसके । त्यै नि एकपटक सोच्नुस् । मलाई भोली भेट्नुस् ।
म एकदिन वाग्लुङ गएर फर्म भरेर आउछु भन्दा यत्रो बाह्र सत्ताइस् । मनमनै बोससंग रिसाए।एकदिनको छुट्टी दिन पनि गाह्रो । मलाई वाग्लुङ गए नाम फ्याट्टै निस्किन्छ जस्तो लाग्थ्यो ।सरकारी जागिर खाएपछि त केको काठमाडौं ? हुर्रिएर पुगिन्थ्यो गाउँगाउँमा ।
आएको १ वर्षमा मोटरसाइकल चढ्ने हैसियतको निर्माण भएको यो जागिरलाई म कदापी नराम्रो मान्दिनथे बरु बोसले भनेका कुराहरुको पक्कै बढि नै अर्थ छन् जस्तो पनि लाग्यो । तर पनि अर्को आइतबार फर्म लगाउन वाग्लुङ जाने निर्णय गरे । किनकी शनिवार मार्केटिङको साथी म संगै हुने भएकाले भ्याक्सिनको नयाँ केस आउने सम्भावना भएन फलोअप केसलाई साथीकोमा हस्तान्तरण गरेपछि पुरै दिन बिदा पाउन सकिन्थ्यो ।शनिवारको नइटबस आक्षतबार फर्म भर्ने बुझाउने काम अनि नाइटमा फर्कने योजना बनाउदै थिए । अर्को साथी जाने भयो वाग्लुङ, सबैले दुईसय रुपैया बढी दिएर उसलाई फर्म भर्न पठाउदा हामीले बिदा लिनु नि नपर्ने उसलाई नि खर्च जोगिने ।गज्जबको उपाय भएन त ?
हुन त यो भन्दा अगाडी पनि लोकसेवाको फर्म भरेकै हो । यसपाली पनि फर्म भरियो फरक यत्ति हो पहिले पहेँलो, अहिले सेतो । अनि पहिले आँफै भरिन्थ्यो अहिले अर्काले भर्दिएर ।२०६४ माघमा खुलेको लोकसेवाको परिक्षा २०६५ असोजमा हुनेभयो । कारण एक जुगमा एक दिन एकपटक आउने संविधानसभाको चुनाव । तर हाम्रोमा दुईपटक आए ।
२०६५ असोज को परिक्षा साच्चिकै राम्रो भयो । पहेँलो फारम वला लोकसेवाको जो अनुभव थियो । यसमा त वस्तुगत बहुवैकल्पिक प्रश्न मात्रै आउने । सायद २ महिना अगाडी जण्डिसले एक महिना सुत्नुपरेको परिणाम पनि थियो ।त्यसबेला एक महिनासम्म न त काममा जान सके न त क्याम्पस नै ।नत्र त काठमाडौको बसाईँ, बिहान ७ बजेबाट ड्यूटी, ४ बज्दा नबज्दा काम सकेर क्याम्पस जानुपर्ने ८ बजेसम्म क्याम्पसअनि राती कोठा,सुत्ने बेला त ११ बजिहाल्थ्यो । उस्तो पढ्ने समय पनि कहाँ पाउनु । बिहान ५ बजे उठेर उहिँ कर्म दोहोर्याउनु मेरो नियमितता ।अहिले झै फेसबुक र टिकटक भएको भए यो उपलब्धी पनि हुदैनथ्यो कि ! मान्छेलाई दिन कटाउन सजिलो बनाउनुको साथै समयको बर्बादी पनि गरिरहेछन् सामाजिक सञ्जालले ।
लोकसेवाको परिक्षा दिएर बाहिर निस्केपछि एक किसिमको उत्साह थपियो । धौलागिरि प्राविधिक शिक्षालयका अधिकाँश साथीहरुसंगको भेट, शिक्षालयका प्रत्येक गतिविधिहरुमा अग्रपङ्तिमा रहने भएको कारण पनि साथीहरुको म प्रतिको कौतुहलताले झनै रौनक बढाएको थियो । यो प्रश्नको उत्तर के उसको उत्तर के भन्दै गर्दा लगभग पचासवटा प्रश्नमा पैचालिस भन्दा माथी नै मिलेको जस्तो लाग्यो । कोही साथीहरु अठ्चालिस उन्पचास नै मिलेको भन्न लागे । त्यो सुनेपछि भने खै नाम निस्कने त के हो के हो भन्दै लागे काठमाडौं वाग्लुङबाट नाइटबस चढेर ।
वाग्लुङबाट फर्केपछि हरेक बुधवार गोरखापत्र हेर्न कहिल्यै छुटेन ।कतै नाम निस्केर थाह नपाउन नपरोस् भनेर । असोजमा परिक्षा दिएको बैशाखको को नौ गते बल्ल नतिजा निस्केछ ।
नतिजा हेर्दा एकपटक झण्डै उफ्रिन ! आफ्नो नाम देखेर ।
दुई पदको लागि लिखितमा छ जनाको नाम रहेछ स्वभाविक रुपमा खतरनाक भनेर चिनेका मान्छे एक जना मात्रै रहेछन् वाग्लुङ्गे प्रताप पौडेल, जो धौलागिरि प्रविधिक शिक्षालयका दोस्रो ब्याचका विद्यार्थी थिए। अरु ४ जना नचिनेका थिए ।तर खुशीको कुरो जो परिक्षाको दिन ४८/४९ वटा प्रश्न मिलाएको भन्दैथिए उनीहरुको नाम पत्रिकामा थिएन ।अब २१ गते हुने अन्तरवार्ताको लागि तयारी के के गर्नपर्ने हो ? कसैलाई भनसुन पो गर्नपर्ने हो कि लगभग एक हप्ता असाध्यै कौतुहलतामै वित्यो ।