दुलेगौँडा : बुधबार राति र बिहीबार विहान परेको भीषण वर्षाले तनहुँ जिल्लामा ठूलो धनजनको क्षति भएको छ । शुक्लागण्डकी नगरपालिकामा पनि भीषण वर्षाका कारण बाढी पहिरोले वितण्डा मच्चायो ।
शुक्लागण्डकीको ढोर क्षेत्रमा बाढी पहिरोले पुर्याएकाे क्षतिको स्थलगत अनुगमन गरिएको छ । शनिबार गण्डकी प्रदेश सभा सदस्य आशा काेइराला, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुंगाना, कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारी लगायतका प्राविधिकले क्षतिग्रस्त स्थानको अनुगमन गर्नुभएको हो ।
उहाँहरुले ढोरबाराही मोटरमार्गको पहिरो, ढोरबाराही खोला, मान्द्रे फाँटमा धान खेतीमा पुर्याएकाे क्षतिकाे अनुगमन गर्नुभएकाे छ । क्षतिग्रस्त संरचनाको पुननिर्माण र किसानलाई राहतका लागि प्रदेश सरकार समक्ष पहल गर्ने प्रदेशसभा सदस्य काेइरालाले बताउनुभयो । उहाँले प्रदेश सरकारले मान्द्रे खोला र ज्याग्दी खोलमा पुल बनाउने जानकारी दिनुभएको थियो ।
सहायक प्रजिअ बरालले क्षतिको विवरण संकलन गरी राहतका लागि प्रदेश र संघ सरकारसमक्ष सिफारिस गर्ने उल्लेख गर्नुभयो । अनुगमन टाेलीसँग स्थानीय जनप्रतिनिधि र बाढी पीडितले तत्काल आफूहरुको माग सम्बोधन गरिदिन आग्रह गर्नुभएको थियो ।