पहिरामा मृत्यु भएका परिवारलाई सहयोग गर्न रेडक्रसको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पहिरामा मृत्यु भएका परिवारलाई सहयोग गर्न रेडक्रसको आग्रह

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७८, शुक्रबार

    ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा पहिराले दुई जनाको मृत्यु भएपछि पीडित परिवारलाई सहयोगको आग्रह गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाले पहिरामा परी मृत्यु भएकाका परिवारलाई सहयोग गर्न अपिल गरेको हो ।

    बिहीबार बिहान घरमाथिबाट खसेको पहिराले पुरिएर ऋषिङ–७ दधिवनमा देवीसरा थापा र ऋषिङ–८ माझफाटमा खुमबहादुर आलेको मृत्यु भएको छ । मृतकमध्ये खुमबहादुर गाउँपालिकामा सुरक्षागार्डका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

    सोसाइटी उपशाखा सभापति इन्द्रबहादुर आलेले अहिले पीडित परिवारलाई सहयोगको आवश्यकता रहेको बताउनुभयो । गाउँपालिकाको कर्मचारी भएकोले स्वर्गीय आलेलाई उचित राहत, बीमालगायतका अन्य आवश्यक सहयोग गाउँपालिकाले गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले श्रीमती वा छोरीलाई रोजगारको व्यवस्था गर्न गाउँपालिकासँग अनुरोध गर्नुभएको छ ।

    “दुःख र पीडाको यो घडीमा पीडितलाई साथ, सहयोग र सहानुभूतिको खाँचो छ । उनीहरुको घाउलाई सहयोगरुपी मलमको आवश्यकता छ,” उहाँले भन्नुभयो, “सहयोग त सरकारले अवश्य नै गर्नेछ । मानवीयताको खातिर सरकारका अतिरिक्त तपाईं हाम्रो व्यक्तिगत र संस्थागत सहयोगको पनि ठूलो आवश्यकता छ ।”

    मृतक देवीसराकी तीन सन्तान छन् । छोराहरु वैदेशिक रोजगारीमा छन् भने छोरीको घरजम भइसकेको छ । खुमबहादुरका तीन नाबालक छोरी छन् । उहाँका छोरीहरु कक्षा एक, ९ र १२ मा अध्ययनरत छन् । “कमाउने बुबा नै पहिरामा मृत्यु भएपछि परिवारको विचल्ली भएको छ,” आलेले भन्नुभयो । उहाँका अनुसार यतिबेला थापा परिवार सहाराविहिन बनेको छ । “परिवारको दैनिकी त कठिन हुने नै भयो । बालबच्चाको लालनपालन, शिक्षादिक्षा र भविष्य अनिश्चित बन्ने देखिएको छ,” उहाँले भन्नुभयो ।

    पहिराका कारण दर्जनौं घर क्षतिग्रस्त र जोखिमपूर्ण भएका छन् । वर्षाको समयमा उठीबास, भागाभाग र रुवाबासी भएको छ । थुप्रै चौपाया मरेका छन् । धेरैको बारीले पहिराले लगेको छ । खेत बगरमा परिणत भएको छ । खेतीपाती नष्ट भएको छ । सयौं ठाउँमा पहिरो गएको छ । यातायात अवरुद्ध छ । उहाँका अनुसार पहिराले बस्तीहरु असुरक्षित भएका छन् । “असुरक्षा, भय र त्रास व्याप्त छ । बाढीपहिरोपीडितहरु सहयोगको याचना र अपेक्षा गरिरहेका छन् । क्षतिको भौतिक मूल्य अनुमान गर्न गाह्रो छ । मानसिक र मनोवैज्ञानिक असर त झन् कहालीलाग्दो छ,” उहाँले भन्नुभयो ।