शेयर सदस्य, पुँजी र कारोवार वृद्धि गर्ने रणनीतिमा व्यास सहकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    शेयर सदस्य, पुँजी र कारोवार वृद्धि गर्ने रणनीतिमा व्यास सहकारी

    खबरपुञ्ज संवाददाता

    २७ असार २०७८, सोमबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–३ स्थित व्यास बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्षमा शेयर सदस्य, पुँजी र कारोवार वृद्धि गर्ने रणनीति सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारीले हाल कायम रहेका शेयर सदस्य र वासलात÷सम्पत्ति वृद्धि गर्ने रणनीति लिएको हो ।

    सहकारीले सात सय ४ जना सदस्य वृद्धि गरी दुई हजार ४ सय ६९ सदस्य पु¥याउने लक्ष्य लिएको अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । त्यसका लागि समिति, उपसमिति मार्फत् विस्तार अभियान सञ्चालन गरिने अधिकारीले बताउनुभयो । “एक सदस्यले अर्को एक सदस्य थप गर्ने अभियान सञ्चालन गर्छौ,” उहाँले भन्नुभयो, “विपन्न, एकल, उद्यमी, दैनिक ज्यालादारी, व्यवसायीलाई प्राथमिकताका साथ सहकारीमा आबद्ध गराई शेयर सदस्य बन्न प्रोत्साहित गर्ने रणनीति बनाएका छौ ।” उहाँका अनुसार कृषि तथा व्यापारमा निर्भर रही जीवनयापन गर्ने परिवारका व्यक्ति सहकारीको सदस्य बन्नेछन् ।

    May be an image of Pradip Adhikari, sitting, standing and indoor

    सहकारीका उपाध्यक्ष प्रेमप्रसाद पौडेलका अनुसार वासलात÷सम्पत्ति रु चार करोड २५ लाख वृद्धि गरी रु ३० करोड ७६ लाख पु¥याउने लक्ष्य लिइएको छ । त्यसका लागि पल्र्स मापदण्ड अनुसार वित्तीय स्वास्थ कायम हुने गरी सेयर, बचत, कोष, ऋण लगानी, तरलता वृद्धि गरिनेछ ।

    त्यसैगरी शेयर रु ३८ लाख वृद्धि गरी रु सात करोड ३७ लाख कायम गर्ने लक्ष्य लिइएको पौडेलले बताउनुभयो । नयाँ सदस्यता विस्तार अभियान लगायत सदस्य वृद्धिका कार्य गर्नुका साथै प्रत्येक सदस्यलाई न्यूनतम ५० कित्ता शेयर थप गराइनेछ । हाल सहकारीको शेयर पुँजी रु ६ करोड ९८ लाख ९६ हजार पाँच सय रहेको छ । चालु आर्थिक वर्षमा ०.७८ प्रतिशत शेयर पुँजी वृद्धि भएको छ ।

    यसैगरी संस्थागत पुँजी रु ६२ लाख ८४ हजार वृद्धि गरी रु एक करोड २० लाख कायम गर्ने लक्ष्य लिइएको छ । त्यसका लागि खर्च भई जाने विभिन्न कोषमा खर्च भएर बाँकी रकम जगेडाकोषमा सार्ने, प्रवेश शुल्क बापत हुने आम्दानीको रकम नियमानुसार कर तिरी जगेडाकोषमा लैजाने, सुरक्षित पुँजीकोषमा रकमलाई बाँडफाँड गरी रहन आएको रकम प्रकृया पूरा गरी जगेडा कोषमा रुपान्तरण गरिनेछ ।

    यसैगरी सहकारीले बचत रकम रु चार करोड दश लाख वृद्धि गरी रु १८ करोड ८८ लाख कायम गर्ने भएको छ । त्यसका लागि सबै सदस्यबाट मासिक बचत नियमित गराउने, सबैभन्दा बढी बचतका सेवामा संलगन हुने सदस्यलाई पुरस्कृत गर्ने, सदस्याको क्षमता अनुसार मासिक बचत गर्न प्रोत्साहन गर्ने, सदस्यहरुको शेयर रकमको कम्तिमा ५० प्रतिशत रकम अनिवार्य रुपमा मासिक बचत गराउने, शेयर वृद्धिको आधारमा मासिक बचत वृद्धि गराउने रणनीति लिइएको छ ।

    सहकारीले लगानीमा रहेको ऋण रु आठ करोड ६४ लाख वृद्धि गरी रु २४ करोड ९० लाख कायम गर्ने भएको छ । त्यसका लागि ऋणको क्षेत्र वर्गीकरण गरी ऋण लगानी गर्ने, संस्थामा विद्यमान ऋण नीति तथा ऋण प्रकृयाबारे सक्षम बनाउन विभिन्न तालिम दिई ऋणीहरुलाई ऋण प्रदान गर्ने, सदस्य व्यवसायीहरुलाई सहुलियत दरमा ऋण उपलब्ध गराई व्यवसाय प्रबद्र्धनमा जोड दिने नीति लिइएको सहकारीले जनाएको छ ।

    सहकारीको आम्दानी करिब तीन करोड

    सहकारीले एक वर्षको अवधिमा करिब रु तीन करोड आम्दानी गरेको छ । व्याज, लगानी, प्रवेश शुल्क, ऋण व्यवस्थापन लगायतबाट सहकारीले चालु आर्थिक वर्षमा रु दुई करोड ८९ लाख ५६ हजार ४६ आम्दानी गरेको जनाएको छ । सहकारीले उक्त अवधिमा रु चार करोड चार लाख ८ हजार दुई सय आम्दानी गर्ने लक्ष्य लिएको थियो ।

    व्याजबाट रु दुई करोड ४७ लाख ५२ हजार तीन सय ५८, लगानीबाट १८ लाख ९७ हजार आठ सय ७५, प्रवेश शुल्कबाट रु चार लाख एक हजार चार सय, ऋण व्यवस्थापनबाट रु ६ लाख सात हजार तीन सय आठ र विविध आम्दानीबाट रु ११ लाख २७ हजार एक सय ६९ आम्दानी भएको छ ।

    आगामी वर्षको लक्ष्य रु साढे करोड

    सहकारीले आगामी वर्ष ०७८÷७९ का लागि रु चार करोड ४७ लाख ५२ हजार सात सय ५३ आम्दानी हुने लक्ष्य राखेको छ । सबैभन्दा बढी व्याजबाट रु चार करोड १९ लाख सात हजार सात सय ५३, लगानीबाट प्राप्त व्याजबाट रु १५ लाख, विविधबाट रु १२ लाख आम्दानी हुने अनुमान छ ।

    शेयर सदस्यलाई सीपमूलक तालिम

    सहकारीले आफ्ना सेयर सदस्यलाई स्वरोजगार तथा उद्यमशील बनाउन सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । सिटिइभिटी, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल, घरेलु तथा साना उदोग कार्यालय, नगरपालिका लगायत विषयगत कार्यालयसँग समन्वय गरी शेयर सदस्यलाई तालिम प्रदान गरिने सहकारीले जनाएको छ ।

    जोखिम न्युनिकरणका लागि सदस्यहरुलाई बीमा गर्न प्रोत्साहन गर्ने, सदस्यको विस्तार तथा कारोबारको विस्तारलाई ध्यानमा राखी कम्तीमा एउटा सेवा केन्द्र विस्तार गर्ने, नगद सुरक्षाका लागी काउन्टर, सेफभल्ट र बाटोको बीमा कार्यक्रमलाई निरन्तरता दिने, समान प्रकृति भएका संस्थाहरुसँग मर्ज गर्ने लगायतका नीति लिइएको छ ।