गण्डकी रत्न’ को लागि तनहुँका दुईको निवेदन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी रत्न’ को लागि तनहुँका दुईको निवेदन

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, बिहीबार

    दमौली । यही वर्षदेखि गण्डकी प्रदेशले शुरु गरेको ‘गण्डकी रत्न’ को लागि तनहुँका दुई जनाको निवेदन परेको छ। पुस २६ गते मन्त्रिपरिषद् बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत भएको थियो ।

    आन्तरिक मामिला मन्त्रालयले माघ ४ मा १५ दिने सूचना जारी गर्दै आवेदन मागेको थियो। आवेदनका लागि कास्कीका तीन जना, लमजुङका एक जना र तनहूँ र स्याङ्जा २/२ निवदेन परेको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिए।

    शिक्षा, स्वास्थ्य तथा खेलकुद, कृषि तथा सहकारी, उद्योग पर्यटन, वातावरण, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन, भाषा संस्कृति, सार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सरकारले सम्मान गर्न लागेको हो। 

    त्यसका लागि तनहुँका काशीनाथ न्यौपाने र रेशमबहादुर विकको निवेदन परेको छ। न्यौपानेले भाषा, संस्कृति, साहित्य, कला, समाजसेवामा योगदान गरेको भनी निवदेन दिएका हुन्। तनहुँको व्यास नगरपालिका ६ का स्थायी बासिन्दा उनी व्यासका अध्येता हुन्।

    विकले पर्यटन क्षेत्रमा योगदान दिएकाको भन्दै निवेदन दिएका छन्। उनले गाउँमा होमस्टे चलाएका छन्। उनी पहिलो दलित होमस्टेको व्यवस्थापन समिति अध्यक्ष हुन्।

    निवेदन दिएकाबाहेकले पनि सम्मान पाउन सक्छन्। प्रदेश सरकारको सिफारिस समितिले नाम सिफारिस गरेमा निवेदन दिएकाबाहेकले पनि सम्मान पाउन सक्ने व्यवस्था कार्यविधिको दफा ३ मा गरिएको छ। ‘सिफारिस समितिले दफा ४ बमोजिमको क्षेत्रमा उत्कृष्ट कार्य गरी प्रदेशको श्रीवृद्धि र गौरव बढाउन विशिष्ट योगदान पुर्‍याएको व्यक्तिलाई छनौट गरी सम्मानका लागि प्रदेश सरकारमा सिफारिस गर्न बाधा पर्ने छैन,’ दफा ३ (२)मा भनिएको छ। निवेदकमध्येबाट सिफारिस गर्न प्रदेश सरकारको विशिष्ट समिति बनेको छ। समितिले बढीमा ३ जनालाई छनोट गर्न सक्ने कार्यविधि बनेको छ।

    विभूषितले के पाउँछन् ?

    विभूषित व्यक्तिलाई सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्यसरहको मर्यादाक्रम हुनेछ।

    यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआईपी कक्ष उपयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ। सम्मानित हुनेले चाँदीको लोगो पाउँछन्। ६.५ सेन्टिमिटरको व्यास भएको गोलो आकारमा बाहिर पहिलो घेरामा एघार जिल्लाको प्रतिकात्मक स्वरूप एघार वटा कमलको पुष्पदल रहने छ।

    दोस्रो घेराभित्र माथि ‘गण्डकी प्रदेश सरकार’ र तल ‘गण्डकी रत्न’ लेखिएको हुन्छ। तेस्रो तथा भित्री घेराभित्र नदी (गण्डकी)को उद्गमस्थल एवं गण्डकी प्रदेशको पहिचान स्वरूप हिमाल र त्यसमाथि राष्ट्रिय झण्डा रहने प्रदेश सरकारले जनाएको छ। झण्डा र हिमालको भागमा सुन प्रयोग गरिने छ। यसमा ६.५ ग्राम सुन र १२५ ग्राम चाँदी प्रयोग हुने कार्यविधिमा उल्लेख छ। यसको पछाडिपट्टिको भागमा वितरण गरिने साल उल्लेख गरिएको हुनेछ भने खादा लगाएर सम्मान गरिने छ। ४ फागुनमा प्रदेश सरकारको पाँचौँ स्थापना दिवसको अवसरमा गण्डकी रत्न दिइने छ।