दमाैली । नेकपा एमाले ऋषिङ गाउँ कमिटीको दोस्रो पूर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारमा जोड दिने निर्णय गरेको छ ।
वडा कमिटीको बैठक एक महिनाभित्र आयोजना गर्न विभिन्न वडामा संयोजक चयन गरिएको ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले जानकारी दिए । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कमिटी गठनलाई पनि तीव्रता दिने निर्णय भएको श्रेष्ठले बताए ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं तनहुँ इन्चार्ज टुकराज सिग्देलले पार्टीलाई बलियो बनाउने गरी काम गर्न निर्देशन दिए । ऋषिङ गाउँ कमिटीका अध्यक्ष गञ्जसिं गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेल, ऋषिङ गाउँ कमिटीका उपाध्यक्ष हिरा थापा लगायतले सम्बोधन गरेका थिए ।