सिकार – लघुकथा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    सिकार – लघुकथा

    टुकादेवी आचार्य

    २९ फाल्गुन २०७८, सोमबार

    “आत्थु मरेँ नि!” नैनकला चिच्याउँदै थिइन्। “हे भगवान मलाई के गरेको ?” गाइको भकारोमा गोबर सोहोर्दै गरेकी नैनकलाको चित्कारले पहाडको टाकुरा हान्यो। उनी छट्पटिंदै आफ्नो शरीरको कपडा फुकाल्न थालिन्। जाडो मौसम भएकाले उनीका कपडा लगाएको उनको शरीरमा उनीको स्वेटर र सुरुवाल भित्र लगाइएको ट्राउजर पनि पग्लिन थाल्यो। कम्मरमुनि तथा माथिको भाग समेत जलिसकेको थियो। वरपरका मानिस जम्मा भएर उनको शरीरमा पानी खन्याउन थाले।

    राजमार्गदेखि करीब एक किमि भित्र पर्ने स्थान भएपनि सिप्लेनी स्वास्थ्यचौकीबाट एम्बुलेन्स ल्याउन एक घन्टा भन्दा बढी लाग्यो। पोलेको मकैजस्तै पटपट फुटेको थियो उनको शरीरको छाला।डा. अजयले भरपुर प्रयास गरे उनलाई बचाउन ।अन्तत: नैनकलाको प्राणपखेरु खुला गगनमा हावा बनेर बिलायो। सातवर्षे छोरो निरबको अनुहारमा एकाएक चुक खनियो। आफ्नो धर्म परम्परा अनुसार मृत्युसंस्कार गरियो। मानव अधिकार आयोगले छानबिन समिति गठन गर्‍यो।

    अनुसन्धानको सातौं दिनमा नेपाल प्रहरीमा निवेदन पेश गर्‍यो। `यो अनुसन्धानबाट के निस्कर्षमा पुगियो भने लागुऔषध प्रयोगकर्ता राजीवले मृतक भाउजूसँग पैसा माग्दा मृतकले पैसा दिन आनाकानी गरेको हुनाले निज आरोपित राजीवले मृतकको शरीरमा पेट्रोल छर्केर आगो लगाइदिएको तथ्य अनुसन्धानबाट प्राप्त भएको छ।निज हाल फरार रहेकाले यथाशीघ्र खोजी गरी सजायको दायरमा ल्याउन अनुरोध छ।´ कार्यक्रम स्थलको कुनामा अधैर्य भएर सुँक्कसुँक्क गर्दै रहेका मृतकका नाबालक छोरा एकाएक कुर्सीबाट खसे।उपस्थित सबैजना बालकतिर दौडिए।