अस्तित्व रक्षामा प्रचण्ड !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    अस्तित्व रक्षामा प्रचण्ड !

    विवि श्रेष्ठ

    ८ चैत्र २०७८, बुधबार

    नेपालको राजनितीमा छोटो समयमा उदय भएर विलिन उन्मुख पात्र हुन् प्रचण्ड । नेपालको समकालिन नेताहरुमा प्रचण्ड नै यस्ता पात्र हुन् । जसले नेपालको राजनितीलाई छोटो समयमा नै उथुलपुथल पार्न सफल भए । नेपालको राजनैतिक ईतिहासमा प्रचण्डको उदय जर्वजस्त छ नै परिवर्तनका मामिलामा पनि प्रचण्ड आम हैन, खास हुन् । तर विगत र वर्तमानलाई समिक्षा गर्ने हो भने प्रचण्ड हिजोको प्रचण्ड रहेनन् । नेपालका राजनितीमा प्रचण्डको जीवन एउटा निश्चय नै अवश्मरणीय रहनेछ ।

    प्रचण्डको विगत र आगतलाई नजिकवाट नियाल्ने हो भने प्रचण्डको आजको अवस्थामा आईपुग्ने धेरै सम्भाव्यता कारणहरु पाउन सकिन्छ । देशमा सामन्ती राजतन्त्रको अन्तय, समावेशी, धर्मनिरपेक्षता, जातिय विभेद र वर्गविभेदमा प्रचण्डको भुमिका मुल कारण हो । यसमा कुनै पनि दुईमत छैन । यति हुदाँ हुदै पनि प्रचण्ड आजको दिनसम्म यति छोटो समयमा नै किन स्वखलित वने, यसमा देशका वौद्धिक वर्गहरुले विश्लेषण गर्ने नै छन् । यद्यापी प्रचण्डका विलिन उन्मुख राजनैतिक परिवेशले नेपालको राजनितीलाई पुन पश्चगमनमा लान्छ कि परिवर्तन निरन्तर जान्छ त्यो कोणवाट पनि हेर्न जरुरी छ । नेपालको हिजोको परिवेश र आजको समयमा प्रचण्डको भुमिका तुलनायोग्य छैन । यहि सन्र्दभमा प्रचण्डले खेल्ने भुमिकाले नेपालको राजनितीमा अवका दिनमा उथुलपुथुल ल्याउने ल्याकत राख्दैन । आखिरमा प्रचण्ड यति धेरै कमजोर किन वने ? नेपालको राजनितीमा यसको चर्चा परिचर्चाको समिक्षा हुनु जरुरी छ, जसले भोलिका दिनमा अन्य नेतालाई सहज हुनेछ ।

    देशमा समावेशीता, संघियता, धर्मनिरपेक्षता, जातिय छुवाछुत, वर्गियमुक्तिको नारा वोकेका प्रचण्ड कुनै वेलाका नायक हुन् । जसले देशमा मात्र नभई विदेशमा समेत हलचल पैदा गरेको थियो । त्यहि विचार र नाराले प्रचण्ड जनतामार्फत देशको सवैभन्दा ठुलो राजनैतिक शक्ति वन्यो । संविधानसभाका निर्वाचन र संविधानसभा वाट संविधान वनेपछि प्रचवण्डले वकालत गर्दे आएको मुद्धाले कति सार्थकता पायो वा पाउन वाकी छ ? त्यो वारेमा प्रचण्डले कहिल्यै जनतालाई वुझाउने प्रयत्न गरेनन् । नेतृत्वको पछाडी जनता विचारमा समाहित भएर लाग्ने हुन् । हिजो प्रचण्डका यहि विचारधारामा समाहित भएका जनता आज कति छन् । तत्कालिन माओवादीले उठाउदै आएको नाराले जनतामा तात्विक प्रभाव पारयो कि पारेन भन्ने कुरामा प्रचण्ड जति गम्भिर वन्ने हो त्यो वनेन्न । विचारवाट नै विमुख भईसकेका प्रचण्ड संविधानसभाले संविधान जारी गरेसँगै प्रवेश गरेको संसदीय भाषमा उत्रनै नसक्ने गरि फस्यो ।

    मुद्धा स्थापितको नतिजा सवल वने कि वनेनन् त्यसको समिक्षा विस्तारै हुनेनै छन् । तर फसेको प्रचण्ड उत्रने वलियो आधार के ? प्रचण्डले हिजो जनयुद्धकाल देखि नै भन्दै आएको विषयवस्तु यो समयसम्म आईपुग्दा कति पुरा भए ? प्रचण्डले आफनो हिजोका साख जोगाउन प्राप्त उपलव्धीको रक्षा गर्दे आफनो अस्तित्व जोगाउन सक्ला कि नसक्लान् ? वा ईतिहासका पानामा सिमित वन्लान्, प्रचण्डका अगाडी चुनौतीको विशाल पहाड तेर्सिएको छ । २१ औ शताव्दीको जनतालाई पुन डर, त्रास र धम्कीले आफनो वशमा पार्न सक्ने सोच छ कि विचारले ? विचारको माध्यामवाट जनतामा राज गरिरहने हो भने अवको कार्यदिशा र विचारधारा के हो प्रचण्डले आम जनतालाई जवाफ दिनु पर्देन ? कि नेपाली काग्रेसले भन्दै आएको सुधारिकएको समाजवाद कि एमालेले भन्दै आएको साम्यवाद ? यहि विचारधारामा टेकेर मात्र अगाडी वढ्न खोज्ने हो भने प्रचण्डको अवको दिन त्यति सहज छैन । पुँजीवादको वकालत गर्ने काग्रेससँगको सहकार्य प्रचण्डका लागी अगामी दिनमा वाधक वन्ला कि नवन्ला ? प्रचण्डले सोचेका होलान् कि नाई ?

    जव तत्कालिन नेकपा माओवादी को संसद प्रवेश भयो । त्यहि वाट नै प्रचण्ड विस्तारै स्वखलित हुदै गए । त्यो पतन हुने कार्य जर्वजस्त वढिरहेको छ । संसदीय मोर्चामा आईसकेपछि र शासनसत्ता हातमा आईसकेपछिका देश र जनताप्रति प्रचण्ड र माओवादीको भुमिका के हुने भन्ने कुरामा प्रचण्ड र माओवादी स्पष्ट हुन सकेन । यहि नै प्रचण्डका लागी स्वखलित हुने माध्याम वनिदियो । जति जति सरकार र संसदमा रहदै गयो, त्यति त्यति नै माओवादी र प्रचण्ड जनतावाट तिरस्कृत वन्न पुग्यो । जसलाई प्रचण्डले हेक्का राख्न सकेन । हिजो संसदीय व्यवस्थालाई नै प्रधानशत्रु देख्ने प्रचण्ड त्यहि संसदीय फाँटमा यसरी फस्यो कि उ उम्कनै नसक्ने भयो । त्यसैको उजागर प्रचण्डमा आएको वैचारिक विचलन र व्यवहारले पटक पटक मुखातरित भईरहेको छ ।

    पुन देशमा चुनावको माहोल छाएको छ । यो वेलामा सवैभन्दा ठुलो धर्मसंकट भनेको प्रचण्डलाई छ । किनकी पहिलो संविधानसभामा पहिलो शक्ति वनेको प्रचण्ड दोश्रो चुनावमा तेश्रो शक्तिमा रुपान्तरण भयो । प्रचण्डलाई अवको चिन्ता भनेको अव हुने चुनावमा पहिलाको तेश्रो हुने साख जोगाउन सकिन्छ कि सकिदैन भन्ने हो । त्यो भन्दा पर प्रचण्डले अव सोच्न सक्दैन, त्यसैको लागी प्रचण्ड गठवन्धनको नारा घोक्रो फुटाल्ने गरि लगाईरहेको छ । आफनै शक्तिमा तेश्रो वन्न सकिदैन भन्ने प्रष्ट भएका प्रचण्ड अव संसदमा वैधानिक राजनैतिक दल वन्न सकिन्छ कि सकिदैन भन्नेमा केन्द्रित छ । विगतलाई समिक्षा गर्ने हो भने प्रचण्ड र माओवादीको जनाधार कमजोर वनिसकेको छ । दम्भ र डरले अवको चुनाव जित्न सकिदैन भन्ने निष्कर्षमा पुगेका प्रचण्डका चुनावी नारा अव काग्रेस र एमालेको नारा वनिसकेको छ । ठोस कार्ययोजना र राजनैतिक कार्यदेश विना जनतालाई प्रभाव पार्न सकिदैन भन्ने वुझेका प्रचण्ड अझै पनि काग्रेसका वुई चढेर खोला तर्ने दिवास्वप्नमा पुलकित छ । काग्रेसका नेताहरुले अव प्रचण्डको उपादेयता सकिएको निष्कर्ष निकालेपछि देखिएको क्रन्दन नै प्रचण्डको अहिलेको अभिव्यक्ति । जुन अभिव्यक्तिले प्रचण्ड कति कमजोर र अस्थिर वनिसके भन्ने पुष्टि गरेको छ । आफैनै वलवुतामाा भन्दा कसैको वैशाखीमा खोला तर्न कति गाह्रो हुन्छ भन्ने कुरा प्रचण्डले राम्रो सँग वुझिसकेका छन् । यसैको परिणाम हो काग्रेसले पेले एमालेसँग पनि गठवन्धन गर्न सकिन्छ भन्ने अभिव्यक्ति ।

    हिजो एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर चुनाव लडेर साख जोगाएको प्रचण्ड अव काग्रेसँग मिलेर हिजोको साख जोगाउन सकिदैन भन्नेमा स्पष्ट छ । जे भएता पनि कम्युनिष्टले अर्को कम्युनिष्टलाई भोट हाल्न जति सहज हुन्छ, त्यति काग्रेसलाई भोट हाल्न सहज हुदैन भन्ने कुरा प्रचण्डले वुझिसकेका छन् । प्रचण्डको चिन्ता नै यहि हो । नेकपा एमालेले हरियो घाँस देखाउने हो भने प्रतिगमनका मतियार भनेका ओलीका पाँउ चरणम् गर्न प्रचण्ड तैयार छन् । जुन प्रचण्डका अभिव्यक्ति वाट पनि प्रष्ट हुन्छ ।

    विचार विनाका राजनिती स्थायी हुदैनन् । राजनिती सम्भावनाका खेल होला, तर त्यो क्षणिक हुन्छ, आवेग र उत्तेजनाले राजनिती स्थायी हुन सक्दैन । यो विचार विहिन हरुको तर्क हो । प्रचण्ड जस्तो कुटिल चालवाजले यसमा हेक्का राख्न सकेनन् । अन्तत्वगोत्व प्रचण्ड आफनो साख जोगाउने अन्तिम लडाईमा रोदन गरिरहेका छन् । प्रचण्डका अवको चिन्ता भनेको हिजोको तेश्रो शक्तिको रक्षा गर्न सकिन्छ कि सकिदैन भन्ने नै हो । यसका लागी प्रचण्ड जतापनि त्वयंशरणम् गर्न वाध्य वनेका छन् । यो उसको आवश्यकता होईन, वाध्यता हो । जीवन आवश्यकतामा हैन, वाध्यतामा घिस्रिन्छ । प्रचण्डले एकान्तमा वसेर यहि सोचिरहेका छन् । वाध्यताका कसीमा प्रचण्ड पनि उभिएका छन् । जुन उसको चाहना हैन ।