कथाकार टुकादेवी पौडेलद्वारा लिखित बार्दली लघुकथा संग्रहको आवरण अमूर्त चित्रकलाले सजिएको छ । कालो पृष्ठभूमिमा जल्दै पग्लिँदै गरेको मैनबत्ती र नजिकै रक्तिम विस्मित आँखाको चित्रकलालाई पाठकले नारी वेदना, नारी चेतना, मानव मूल्यमा आएको ह्रास या आफ्नै पाठकीय नजर उतार्न सक्छन् ।
यस संग्रहको क्रम संख्या २७ औँ मा रहेको लघुकथा बार्दलीको नामबाट प्रकाशित ‘बार्दली’ कथा संग्रह प्रकाशक वासुदेव आचार्य हुन् । आवरण र प्रत्येक कथाको भावचित्र चित्रकार सुनिता देवकोटाले तयार पारेकी हुन् । गोर्खाली अफसेट प्रेस जाल्पारोड पोखरामा मुद्रण गरिएको यो कृति २०७८ भाद्रमा ११०१ प्रति छापिएको छ भने यो लघुकथा संग्रहको बिक्री मूल्य २२५ राखिएको छ ।
सुरु देखिका २४ पृष्ठमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङदेखि बाराही साहित्य प्रतिष्ठानका अध्यक्ष ठाकुरप्रसाद शास्त्रीसम्मका, लघुकथाकार एवम् समालोचक हरिप्रसाद भण्डारीदेखि लेखकले अध्यापन गर्ने विद्यालयका प्रधानाध्यापक धुर्वकुमार मल्लसम्मका शुभकामना र मन्तव्य अनि स्वयम् लेखकीय अनुभूतिले भरिएका छन् ।
९२ पृष्ठमा ५१ छोटाछरिता लघुकथा संग्रहित यो पुस्तक आकर्षक देखिन्छ । नेपाली साहित्यमा प्रयोग हुने साधारण नामभन्दा भिन्न शीर्षकले नामाकरण गरिएको यस पुस्तकको नाम सुन्दा आम पाठकलाई एकपटक पुस्तकको बारेमा सोच्न बाध्य बनाउँछ । सामान्यतया बोलीचालीमा कम प्रयोगमा आउने बार्दली शब्द लोपोन्मुख शब्द हा । यो कृतिको नामाकरण बार्दली राखिनु पनि थप जिज्ञासाको विषय बन्दछ ।
यस कृतिका लेखक विद्यालयीय उमेरदेखि नै रचनामा लागेको थाहा पाइन्छ । लेखकको हुटहुटीलाई कृतिको रूप दिन भने कोरोनाको बन्दाबन्दी प्रमुख कारक बनेको छ ।
लघुकथा के का लागि लेखिन्छ र किन लेखिन्छ ? भन्ने प्रश्न आफैंमा एउटा प्रश्न नभई एक अनुत्तरित उत्तर हो जसको अभिभारा स्वयम् कुशल लेखकले दिन सक्छ र दिने सामथ्र्य राख्दछ । फेरि यसको उत्तर प्रश्न आफैंमा निर्भर हुने कुरा पनि हो । म भन्छु मनका आरोह–अवरोह, आवेग–संवेग, आग्रह–पूर्वाग्रह आदि व्यक्त गर्न प्रयोग हुने भाव र शिल्पको उचित भावानुबोध नै कथा हो । कुनै पनि कथाले एउटा परम्परागत दर्शनलाई बोकेको हुनुपर्छ भन्ने कुनै अकाट्य नियम त छैन तर पनि सामान्य दैनिक व्यवहारको अभिव्यक्ति भने हुनैपर्छ कथामा । कथाकारहरू भन्छन्, ‘मानव जीवनका हिजोको कुरा आजको कथा र आजको कुरा भोलिको कथा हुन् । कथाकारले हेर्छ, देख्छ, भोग्छ, सुन्छ, रुन्छ अनि अलिकति कल्पनाको जलप लगाउँछ र प्रसव वेदनाबाट जन्मन्छ कृति ।’
कुनै पनि रचना कृतिमा पाइने भनेको सत्य, सत्यांश र सत्याभास नै हो । कथाले पाठकको हृदयलाई उद्वेलित गर्दै त्यसैको समय र घटनाक्रमसँगै डो¥याउनुपर्छ अनि मात्र कथा लेखिनुको उद्देश्य पूरा हुन्छ र कथा, सही अर्थमा कथा भन्न योग्य ठहर्नेछ।
यस पुस्तकमा कथाकारले आफ्नो जीवनमा देखेका र भोगेका घटनावलीलाई जीवन दिएकी छन्, शब्दहरूका माध्यमद्वारा । यी लघुकथाहरूमा मान्छेको मन अनि सिंगो नेपाली समाज बोलेको छ । कथा ‘अभिमान’ बाट सुरु भएर ‘हिसाब’ मा टुङ्गिएको छ । संग्रह सम्पादनको यो प्रस्तुति निकै कलात्मक देखिन्छ ।
कथाकै कुरा गर्नुपर्दा कतिपय कथा यसरी बुनिएका छन् कि जो पाठककै दैनिकीसँग पनि मेल खान सक्छन् । कतिपय कथामा कथाकार आफैं पात्रको रूपमा समेत उभिन पुगेकी छन् । यो संग्रह आवाज विहीनहरूको आवाज हो । यसमा समाजबाट अपहेलित महिलाको व्यथा अनि समाजमै रहेका तर नहेरिएका र वास्ता नगरिएका पात्रहरूका कथा छन् । ‘आमा’ लघुकथामा पोखिएको एउटी अबला महिलाभित्रको अन्र्तद्वन्द यसरी पोखिएको छ ‘मलाई तेरो बाउसाउ थाहा छैन तर म तेरो आमा चाहिँ अवश्य हुँ ।’
कथाकै क्रममा जनताले चुनेर पठाएका नेताको प्रवृत्ति पनि उनिएको छ । समाजमा नेता ठानिएका ठुलाबडाको चर्चा चुलाइएको छ । जताबाट पनि आफ्नै पोल्टामा खुसी पार्नेहरु अरुको दुःखको खिल्ली उडाउँछन् भन्ने भाव ‘अभिमान’ र ‘हिसाब’ लघुकथाले बोलेका छन् । केही कथामा फेसबुके प्रेम र प्रेममा चुर्लुम्म डुबी आफ्नो घरबार समेत बिगारेको तथ्यलाई समेत उजागर गरिएको छ । ‘उसको प्रेम’ यसको ज्वलन्त उदाहरण हो । वैदेशिक रोजगारमा रहेका युवाहरु फेसबुके प्रेममा पर्दा भर्खर वैवाहिक बन्धनमा बाँधिएको उसले नवयुवतीसँग भ्रामक प्रेममा परेकाले तन, मन र धन लिएर बिदा मनाउन नेपाल फर्किएको र नव यौवना युवतीबाट ठगिएको सन्दर्भले एकपटक झसङ्ग बनाउँछ ।
कलेज पढ्ने ठिटाठिटीहरु वनभोजमा गएर सामूहिक रमाउन भन्दा पनि फोटो खिच्न र टिकटक बनाउने ध्याउन्नमा लाग्दा अकालमा ज्यान समेत जाने गरेको तथ्य कोरिएको छ ।
‘मनको व्यथा’ शीर्षकको कथाले पाठकको मन चसक्क हुन्छ । आफ्नो एकमात्र छोराको मायाबाट वञ्चित आमाको कथा हो यो कथा । एकल महिला आमाले छोराको वात्सल्य प्रेम सम्झेर आफ्ना मृतक पतिसँग गरेको एकालापले पाठकको मन चसक्क हुन्छ। जीवनको अन्तिम घडीमा उनी एक्लो जीवन जिउन वाध्य भएको र वैदेशिक रोजगारमा गएको छोरा विदेशमै रमाएर देसको माटो बिर्सेको प्रसङ्ग छ ।
बार्दलीमा पीडा छ, व्यथा छ र मुख्य कुरा आशा छ जुन कुरा नै कथाको सकारात्मक पक्ष हो । यही पक्षले पाठकलाई सोच्न बाध्य पार्छ र बेलाबेलामा झस्काउँछ । उनको वाध्यता कथाले स्वास्थ्यकर्मीको तितो पीडा बोलेको छ । यो आफैंमा एक पृथक शैलीको कथा पनि हो । नेपाली साहित्यमा यो प्रकारका कथा लेखिएको पाइँदैन । उसो त यस्तो कथा बुन्दा निकै संयमता अपनाउनुपर्ने हुन्छ नत्र कथा एकतर्फी रूपमा अगाडि बढ्छ फलस्वरूप कथालाई न्याय गर्न सकिन्न ।
यस पुस्तकले आधुनिक नेपाली लघुकथाको क्षेत्रमा एक इँट्टा थपेर योगदान पुर्याउनेछ भन्नेमा विश्वस्त छु । लेखकले पात्र चयन र त्यसलाई उपयुक्त परिवेशमा सन्तुलन मिलाएर प्रस्तुत गर्ने कौशलता एक असाधारण कला हो । उनले परिवेश यसरी बुनेकी छन् कि त्यसलाई हरेक पाठकले सजिलै मनन गर्दै त्यसैमा आफूलाई ढाल्न सक्छन् । कथा पढ्दै जाँदा पाठकले आफूलाई त्यसमा डुबाएर लेखाजोखा गर्नु लेखकको अन्तिम सफलता हो । त्यही बिन्दुमा लेखक टुकादेवी दत्तचित्त भएर पुगेकी छन् भन्ने कुराको लघुकथाहरू नै ठोस प्रमाण हुन् । यसले लेखकको उज्वल भविष्यको संकेत पनि गर्छ ।
नारीवादी दृष्टिकोणबाट हेर्नुपर्दा अधिकांश कथा कुनै न कुनै पक्षमा नारी चिन्तन पोखिन्छ । नारीवादी दृष्टिकोणबाट हेर्दा कथाहरू बेजोड छन् । ‘कारण’ कथाले मातृत्वको बखान गर्दै नारी सशक्तीकरणको वकालत गर्ने प्रयत्न गरेको देखिन्छ । उनका अधिकांश कथाहरूमा नारी पात्रहरू नै हावी छन् जसले कथाहरूलाई सार्थकता दिँदै पुस्तकलाई पूर्णता प्रदान गरिरहेको छ ।
नारी संवेदनाको उचित कदर गर्दै लेखकले आम पुरूष पाठकको मनमा महिलाका विषयमा रहेका कैयौं जिज्ञासा मेटाउने प्रयत्न गरेकी छन् भने पुरूष भएर पुरुषले भोग्ने पीडा र संघर्षका विषयमा आत्मविश्वास पूर्वक लेख्नु जस्तो साहसिक कार्य टुकादेवीले गरेकी छन् जुन आफैंमा सह्रानीय पनि छ ।
कथाकारको भाषा गज्जबको छ । उनी शब्दलाई वाक्यमा बुन्न ज्यादै सिपालु छिन् । धेरै ठाउँमा सूचना र प्रविधिका शब्दहरूको प्रयोगले कथाहरूलाई स्तरीय मात्र बनाएका छैनन्, त्यसलाई थप सुन्दर र अर्थपूर्ण बनाउन मद्दत गरेका छन् ।
कतिपय कथ्य शैलीका भाषा प्रयोगले पनि कथा पठनीय र बोधगम्य देखिन्छन् कथामा विविधता निकै नै भेटिन्छ । यस्तो लाग्छ, उनी प्रत्येक लघुकथाबाट छुट्टाछुट्टै सन्देश प्रवाह गर्न चाहन्छिन् । कथा पढ्दै जाँदा एउटा परिपक्व लेखकको कथा पढेको आभास हुनु यस कृति र कृतिकारको शक्ति हो भने शुभकामना र मन्तव्य बढी हुनु यस कृति र कृतिकारको सीमा देखेको छु ।
अन्तमा व्यस्त समयको बहानामा लेखकको लेखनी नरोकियोस् । अर्को कृति छिट्टै नेपाली साहित्यको भण्डारमा थपियोस् । कथाकार टुकादेवीलाई यस कृतिका लागि हार्दिक बधाई र अर्को कृति प्रकाशनका लागि शुभकामना व्यक्त गर्दछु ।