तनहुँमा चुनावी रौनक – थरिथरिको गठबन्धन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चुनावी रौनक – थरिथरिको गठबन्धन

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७९, शुक्रबार

    दुलेगौडा । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको रौनक बढ्दो छ । जिल्लामा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर भोट फकाउन व्यस्त छन् ।

    दैनिक जसो नमस्कार र ढोग टक्रयाउँदै उम्मेद्वारले भोट फकाइरहेका छन् । 

    केन्द्रको सहमति अनुसार सत्तारुढ दलहरुबीच हुने भनिएको गठबन्धन जिल्लामा कार्यन्वयन हुन सकेन् । तर थरीथरीका गठबन्धन गरेर दलहरु निर्वाचनमा होमिएका छन् । केही स्थानीय तहमा जिल्लास्तरमा हुन नसकेको सत्तारुढ दलबीचको गठबन्धन स्थानीयस्तरबाट सहमति गरिएको छ । 

    जिल्ला स्तरमा छलफल हुँदा सबै दलको आ–आफ्नै अडान कायम राख्दा सहमति जुटेन र गठबन्धन भएन्। सहमती नजुटेपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले सबै स्थानीय तहमा आ–आफ्नै तवरले उम्मेद्वारको मनोनयन दर्ता गराए ।

    अन्तिममा शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा मात्र मनोनयन दर्ता फिर्ता लिदैँ सत्तारुद्ध दलको गठबन्धन कसिलो हुदैँ चुनावमा होमिएका छन् ।

    शुक्लागण्डकीको मेयरमा कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा माओवादीका खुमबहादुर विक (राजु) ले उम्मेद्वारी दर्ता गराएका थिए । दुई दलबीच मनोनयन दर्ता अगाडी नै गठबन्धनको सहमति भएको थियो । सहमति अनुसार वडामा कार्यन्वयन हुन सकेन्। एकीकृत समाजवादी पार्टीको तर्फबाट मेयरमा कमल गैरे र उपमेयरमा रेखा थापा बस्यालले उम्मेद्वारी दिएका थिए। उम्मेद्वारी दिने दिनमा उनीहरुको प्रतिकृया थियो, ‘छोड्नलाई उम्मेद्वारी दिएको हैन्।’

    उम्मेद्वारी दर्ता भएपछि ‘प्रतिगमन काठमाडौँमा भएको हो शुक्लागण्डकीमा हैन भन्दै’ एमालेसँग समाजवादीको गठबन्धन गर्नलाई छलफल पनि चल्यो, सहमति जुट्न सकेन्। उम्मेद्वारी फिर्ताको दिन एउटा वडामा गठबन्धन गर्ने सहमति गर्दैै समाजवादीका तर्फबाट मेयर र उपमेयर लगायत वडामा पनि उम्मेद्वारी फिर्ता लिदैँ सत्तारुढ गठबन्धनसँग मिसियो । 

    घिरिङमा पनि  सुरुमा कांग्रेसका गंगा कुमालले अध्यक्षमा र उपाध्यक्षमा एकिकृत समाजवादीका पुर्णबहादुर थापाले उम्मेद्वारी दिएका थिए । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेद्वारी दिएका हरिहर अधिकारीले फिर्ता लिदैँ गठबन्धनलाई सघाएका छन् ।  

    शुक्लागण्डकी र घिरिङमा बाहेक अन्य स्थानीय तहमा सबै दलको गठबन्धन हुन नसकेको नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका सचिव लक्ष्मीभक्त खनालले बताए । उनका अनुसार कांग्रेसले भिमादमा एकिकृत समाजवादीसँग गठबन्धन गरेको छ ।

    भिमादमा मेयर समाजवादीको भागमा परेको छ । देवघाटमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको छ । देवघाटमा पनि आ–आफ्नै तरिकाले उम्मेद्वारी दर्ता भएको थियो । कांग्रेसबाट उपाध्यक्ष र माओवादीबाट अध्यक्षले उम्मेद्वारी फिर्ता लिदैँ गठबन्धनको डोरी कसिएको हो । 

    ‘पहिला आफ्नै अडानले गठबन्धनमा सहमती जुटेको थिएन् । सहमती र छलफलको पर्याप्त समय पनि भएन् ।  पछि मिल्न पर्छ भनेर मत क्यालकुलेशन गरियो । मिल्दाखेरी जितिन्छ भन्ठानेर मिल्यौँ’, उनले अगाडी थप्दै भने, ‘पालिकालाई नै अधिकार दिएपछि पालिकास्तरबाट गठबन्धन सम्भव भयो । हार्नुभन्दा मिलेर जितौँ भनेर लागियो । एमालेको विरुद्धमा एक बनौँ भनेर गठबन्धन भयो ।’ 

    ऋषिङ गाउँपालिकामा भने एमालेसँग माओवादी मिलेर कांग्रेसलाई पराजित गर्ने रणनीतिका साथ लागेका छन् । एमालेबाट अध्यक्षमा हरिराज कँडेल र उपाध्यक्षमा माओवादीका मधुप्रसाद  थापाले कांग्रेसबाट अध्यक्षका उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षका उम्मेद्वार गिनुमाया थापासँग चुनावी मैदानमा उत्रिएका छन् । 

    कांग्रेसले तालमेल गर्न नचाहेकाले एमालेसँगै बाध्यात्मक परिस्थितीमा तालमेल भएको नेकपा माओवादी केन्द्र ऋषिङ गाउँ कमिटीका अध्यक्ष विरबहादुर थापाले बताए ।

    ‘हामीले कांग्रेससँग तालमेल गर्ने भनेर उपाध्यक्षमा मात्रै मनोनयन दर्ता गरेका थियौँ । उहाँहरुले समन्वय गर्नुभएन् । बाध्यात्मक तरिकाले एमालेसँग तालमेल गरेर अध्यक्ष र उपाध्यक्षमा भोट माग्दै हिँडिरहेका छौँ’, उनले भने । कांग्रेस सत्ता साझेदार दल भएपनि ऋषिङमा कांग्रेसलाइ हराउने लक्ष्य रहेको उनले बताए । वडामा भने आ–आफ्नै सेट चुनावी मैदानमा रहेको उनले बताए । 

    नेकपा एमालेले जिल्लाको व्यास र भानु नगरपालिकासँगै बन्दीपुर गाउँपालिकामा नेपाली कांग्रेसबाट साधारण सदस्य समेत नरहेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग तालमेल गरेको छ । व्यासमा गोविन्दराज जोशी पुत्र दिपराज जोशीलाई मेयरमा एमालेले सघाएको छ ।

    भानुको जोशी समुहले उपमेयर र बन्दीपुरमा उपाध्यक्ष पाएको छ । पूर्व गृहमन्त्री समेत रहेका जोशी यतिबेला एमालेको सुर्य चिह्नमा भोट माग्दै हिडिरहेका छन् । जोशी समुहका उम्मेद्वारले भने स्वतन्त्र उम्मेद्वारी दिएर चुनावी चिह्न लिएका छन् ।